
बिर्तामोड, ८ असोज । संघीय संसदका सभामुख देवराज घिमिरेले झापाको विकासमा आफू प्रतिबद्ध रहेको दोहो¥याउनु भएको छ ।
झापाको बिर्तामोडस्थित निजी सचिवालयमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सभामुख घिमिरेले निर्वाचनताका आफूले गरेको बाचा पूरा गर्न अधितम् प्रयास गरिरहेको बताउनुभयो ।
झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उहाँले निर्वाचनका बेला जनताको हरेक सुखदुःखमा सदैव साथ रहने बाचा गरेको र सोही अनुरुप आफू लागि परेको बताउनुभयो । उहाँले यस क्षेत्रको समग्र विकासका लागि तुलनात्मक रुपमा बढी नै बजेट ल्याएको समेत उल्लेख गर्नुभयो । सभामुख घिमिरे आगामी तीन दिनसम्म आफ्नो निर्वाचन क्षेत्र स्थलगत अवलोकन र अनुगमन रहने जनाइएको छ ।
सभामुख घिमिरेले संघीय संसदमा राजनीतिक दल बीचको असमझदारी हटाउन आफूले भूमिका खेलिरहेको समेत बताउनुभयो । “राजनीतिक पार्टी र नेताहरुबीचमा असमझदारी बनेका बेला उहाँहरुलाई एकठाउँमा राख्ने काम सकेसम्म भूमिका खेलेको छु”, उहाँले भन्नुभयो, “यसमा एक खालको सफलता मिलेको छ ।” सरकारले ल्याएका ऐन–विधेयकहरुलाई संसदमा घनिभूत छलफल गराउने काम आफूले गरिररहेको सभामुख घिमिरेको भनाइ छ ।
सभामुख घिमिरेले सरकारले गम्भीरताका साथ ऐन कानून निर्माण लाग्न नसकेको समेत बताउनुभयो । सरकारले कानून ल्याए पनि तुरुन्त पछि हट्नुपर्ने अवस्था रहेको चर्चा गर्दै सभामुख घिमिरेले सरकारले विधेयकहरु ल्याउँदा सरोकारवालाहरुसँग वृहत छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।
“संसदमा विधेयक आउने वित्तिकै त्यसको व्यापाक विरोध भइरहेको अवस्था छ”, उहाँले भन्नुभयो, “विधेयकहरु ल्याउँदा सरोकारवालाहरुसँग छलफल गरेर उनीहरुको माग र भावना समेट्न आवश्यक छ ।”
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


