
शिवसताक्षी, ११ असोज । झापाको शिवसताक्षी नगरपालिकाले छड्के अनुगमन गरेको छ । शिवसताक्षी–८ स्थित झिलझिले बजारमा आज छड्के अनुगमन गरेको हो ।
अनुगमनका क्रममा अधिकांश किराना पसलमा म्याद गुज्रिएको समग्री फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगर उपप्रमुख नरमाया कार्कीको नेतृत्वको टोलीले गरेको अनुगमनमा पसलमा भेटिएका म्याद गुज्रिएका सामग्री जफत गरिएको छ ।

अनुगमन टोलीले पसल दर्ता तथा नवीकरण नगरिएका पसलको लगत संकलन समेत गरेको शिवसताक्षी नगरपालिकाका राजश्व शाखा संयोजक बद्री दाहालले जानकारी दिए । उनका अनुसार धेरै पसलहरुमा शिवसताक्षी नगरपालिका तथा आन्तरिक राजश्व कार्यलयमा दर्ता नगरी चलाएको भेटिएको छ । दर्ता नगरिएका पसलहरुलाई असोज महिना भित्रमा दर्ता गर्न सुझाएको संयोजक बद्री दाहालले जानकारी दिए ।
पसलहरुमा ट्याग नलाइएका डुनट, पाउरी, टोस्ट लगायतका खाद्य सामग्रीहरु फेला परेका छन् । त्यस्तै केही पसलहरुमा म्याद गुज्रिएको पेय पदार्थ, खाने तेल, चिप्सहरु भेटिएको छ । नगरपालिकको टोलीले उक्त सामाग्रीहरु जफत गरेको छ । जफत गरिएको सामग्री डिस्पोज गरिने अनुगमन टोलीका संयोजक दिपक तामाङले जानकारी दिए ।

अनुगमनमा नगरपालिकाका कर्मचारी, नगर प्रहरी, शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष यामनाथ काफ्ले, वडा नं. ८ का सचिव पुष्पलाल पाण्डे, झिलझिले बजार समितिका प्रतिनिधि र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


