
कनकाई, १४ असोज । झापाको कनकाई नगरपालिकामा आजदेखि लम्पी स्किन रोगविरुद्धको खोप अभियान शुरु भएको छ । कनकाई नगरको आयोजना तथा नगर पशु स्वास्थ्य शाखाको संयोजनमा लम्पी स्किन रोगविरुद्धको खोप अभियान शुरु भएको हो ।
आजदेखि नगरका सबै वड़ासम्म नै ब्यापक रुपमा लम्पी स्किन रोगविरुद्धको खोप अभियान सञ्चालन हुने कार्यवाहक नगर प्रमुख सुशीलकुमार पोखरेलले जानकारी दिनुभयो । आज पहिलो दिन कनकाई वडा न ५ बाट ३ टोली परिचालित गरी अभियान आगामी १५ दिन भित्रमा सबै वडामा सम्पन्न गर्ने लक्ष्य लिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । उहाँले बढीभन्दा बढी नगरबासी पशुपालक कृषकलाई लाभ लिन अनुरोध गर्दै नगरबासीको पशुधन सुरक्षामा स्थानीय सरकार गम्भीर भएको बताउनुभयो ।
नगरभर करिब ७ हजार ५ सय बढी पशु चौपायालाई खोप लगाउने लक्ष्य रहेकोे नगर पशु स्वास्थ्य भेटरिनरी अधिकृत कुलबहादुर गुरुङको भनाइ छ । कनकाई–५ का वडाध्यक्ष तथा नगर प्रवक्ता कृष्णबहादुर राईको अध्यक्षतामा भएको अभियानको उद्घाटनमा नगर पशु स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पौडेल, नगर पशु स्वास्थ्य भेटरिनरी अधिकृत गुरुङ लगायतले रोगको बारेमा जानकारी गराउनुभएको थियोे ।
कार्यक्रमलाई नगर प्रवक्ता राईले कृषि तथा पशुपालनका क्षेत्रमा आत्मनिर्भर बन्दै आएका आम नगरबासीलाई प्राथमिकतामा राखेर स्थानीय सरकारले घर घरमै सेवा पुर्याउने उद्देश्यका साथ यो अभियान सञ्चालन गरेको स्पष्ट पार्नुभएको छ । लम्पी स्किन रोगविरुद्धको खोप लगाउने पशु चौपायामा जन्मिएको ३ महिना माथि पुगेका, ब्याएको तथा गर्भवती पशुका लागि सुरक्षित हुनुका साथै उक्त रोग लागेर निको भएर १ वर्ष पूरा भइसकेको पशुलाई मात्रै लगाउन मिल्ने नगर पशु स्वास्थ्य भेटरिनरी अधिकृत गुरुङको भनाइ छ ।
कृषकहरुको पशुधनको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै स्थानीय सरकारबाट भएको कार्यक्रमले कृषि तथा पशुपालनमा थप हौसला मिलेको स्थानीय पशु पालक कृषकहरुको भनाइ छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



