
फूटबल सम्बन्धी वेबसाइट गोलडटकमले प्रदान गर्ने यो अवार्ड जित्ने क्रममा मोड्रिचले विश्व फूटबलका हस्तीद्धय क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सीलाई पछि पारे ।
स्पेनिस क्लब रियल मड्रिडका स्टार मिडफिल्डर मोड्रिचले आफ्नै कप्तानीमा फिफा विश्वकप २०१८ मा क्रोयसियालाई फाइनलसम्म पुर्याएका थिए । उनकै उत्कृष्ट प्रदर्शनमा रियल मड्रिडले लगातार तेस्रो पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जित्यो । गोलडटकमका ३७ वटा संस्करणमा कार्यरत खेल पत्रकारहरुको भोटिङका आधारमा बर्षका उत्कृष्ट ५० फूटबलर छनोट गर्ने गरिन्छ । गोलडटकमले प्रदान गर्ने यो १० औं बार्षिक अवार्ड हो । त्यही भोटिङका आधारमा मोड्रिचले सबैलाई उछिनेका हुन् ।

दोस्रो स्थानमा भने मड्रिडबाट यसै सिजन इटालियन क्लब युभेन्टसमा आबद्ध भएका रोनाल्डो परे । रोनाल्डोले यसअघि लगातार दुइपटक यो अवार्ड जितेका थिए । यसपालि भने उनी थोरै भोट अन्तरबाट लगातार तेस्रोपटक यो उपाधि जित्नबाट चुके । ५० जना उत्कृष्ट फूटबलरको सूचीमा लिभरपुलका स्टार, इजिप्टका मोहम्मद सलाह तेस्रो स्थानमा आउँदा फ्रान्सका पेरिस सेन्ट जर्मेन स्टार किलियन एम्बाप्पे चौंथो नम्बरमा परे । बार्सिलोनाका अर्जेन्टिनी स्टार मेस्सी भने पाँचौं नम्बरमा सीमित भए ।
छैठौं नम्बरमा बेल्जियमका खेलाडी, इङ्लिस क्लब म्यानचेस्टर सिटीका केभिन डि ब्रुयन परे । रियल मड्रिडका राफायल भरान सातौं, टोटनहमका ह्यारी केन आठौं, एटलेटिको मड्रिडका एन्टोइन ग्रिजमन नवौं तथा रियल मड्रिडका मार्सेलो १० औं नम्बरमा परे । चेल्सीका एंगोलो कान्टे र इडेन हाजार्ड क्रमशः ११ औं र १२ औं स्थानमा परेका छन् । पेरिस सेन्ट जर्मेनका ब्राजिलियन स्टार नेयमार भने २४ औं स्थानमा सीमित भएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
