
बिर्तामोड, २९ असोज । सरकारले दूधमा गरेको मूल्यबृद्धिका कारण दुग्ध व्यवसाय संकटमा परेको व्यवसायीहरुले बताएका छन् ।
नेपाल डेरी एसोसिएसन कोशी प्रदेशले आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले दूधको मूल्य बढाएपछि दुग्ध व्यवसाय संकटमा परेको जनाएको हो । सरकारले किसानले उत्पादन गरेको दूधको मूल्यबृद्धि गरेपछि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको एसोसिएसनका कोशी प्रदेश अध्यक्ष गंगाबहादुर खड्काले बताउनुभयो ।
“सरकारले दूधको मूल्य बढाउने बेलामा समेत हामीले मूल्यबृद्धि गर्दा दुग्ध व्यवसायमा समस्या हुने जनाएका थियौं”, उहाँले भन्नुभयो, “तीन महिनायता व्यवसाय समस्याग्रस्त भएको छ ।” नेपालमा भन्दा भारतमा दूधको मूल्य सस्तो हुँदा भारतबाट नेपालमा भित्रिरहेको उहाँको भनाइ छ । यही अवस्था रहे किसानको दूधको भुक्तानी दिन नसकिने र मिल्क होलिडे मनाउनुपर्ने अवस्था आउने उहाँले बताउनुभयो ।
दुध व्यवसायीले भण्डारण गरेको अर्बौं रुपैयाँको घ्यू, चिज, पाउडर दुध लगायतका दुग्धजन्य पदार्थ बिग्रिने अवस्थामा पुगेको उहाँको भनाइ छ । सरकारले दुधको मूल्य घटाएर किसानलाई उत्पादनको आधारमा दिने गरेको अनुदान बढाउनुपर्ने उहाँले बताउनुभयो ।
तीनै तहको सरकारले दूध उत्पादन बृद्धि गर्न विभिन्न कार्यक्रम ल्याएपछि हाल मुलुक दूधमा आत्मनिर्भर भएको छ । “सरकारले जसरी दूध उत्पादन बढाउन विभिन्न योजना ल्यायो, त्यसरी नै दूग्ध जन्य पदार्थको विविधीकरण र बजारीकरणमा सहयोग गर्नुपर्ने एसोसिएसनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष राजन चिमरियाले बताउनुभयो ।
सरकारले दूध उत्पादनमा प्रोत्साहन गरेपछि हाल दूध उत्पादन दोब्बर बृद्धि भएको उहाँले बताउनुभयो । दूधको मूल्य बृद्धि हुँदा त्यसको प्रत्यक्ष असर निर्यातमा भएको उहाँले बताउनुभयो । गत वर्ष पाँच अर्बको छुर्पी निर्यात गरिएको पनि हाल निर्यात स्वात्तै घटेको बताउँदै उहाँले भन्नुभयो, “छिमेकी मुलुक बंगलादेश र तिब्बतमा दूधको बजारको सम्भावना हामीले अध्ययन गरेका छौं, सरकारले निर्यातको वातावरण बनाइदिनुपर्छ, अनुदान दिनुपर्छ ।”
किसानले उत्पादन गरेको नौनी, छुर्पी, चिज लगायतका वस्तु बिक्री नहुँदा हाल किसानले उत्पादन लिन छाडिएको एसोसिएसनका केन्द्रीय महासचिव हेमचन्द्र खनालले बताउनुभयो । “उत्पादित दूध स्वदेशमै खपत हुने अवस्था छैन, लागत मूल्य धेरै हुँदा निर्यात गर्ने वातावरण छैन”, उहाँले भन्नुभयो, “सरकारले किसान र व्यवसायीलाई बचाउने योजना तत्काल ल्याउनुपर्छ ।”
एसोसिएनका कोशी प्रदेश अध्यक्ष खड्काले हाल तीन लाख केजी नौनी घ्यू बिग्रिने अवस्थामा पुगेको बताउनुभयो । “मसँग मात्रै ५२ हजार केजी नौनी घ्यू स्टक छ”, उहाँले भन्नुभयो, “बिक्री नभए खाल्डो खनेर गाड्नुपर्नेको विकल्प छैन ।” सोही प्रकार धेरै व्यवसायीले स्टक गरेको दुग्धजन्य पदार्थ बिग्रिने अवस्थामा पुगेको एसोसिएसनले जनाएको छ ।
भारतको तुलनामा नेपालमा दूधको मूल्यमा करिब रू पाँचको अन्तर रहेको एसोसिएसनले जनाएको छ । सरकारी मापदण्ड अनुसार किसानले उत्पादन गरेको दूधको मूल्य रू ६६ तोकेको छ भने भारतमा भारु ३५÷३५ रुपैयाँ रहेको एसोसिएसनले जनाएको छ । हाल मुलुकमा दैनिक सात लाख लिटर दूधको कारोबार हुँदै आएको एसोसिएसनले जनाएको छ । कोशी प्रदेशमा दैनिक तीन लाख लिटर दूधको कारोबार हुने एसोसिएसनले जनाएको छ ।
— सन्तोष शर्मा
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


