
झापा, १२ कात्तिक । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाममा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन पूर्णकदको शालीक निर्माण गरिएको छ ।
शिवसताक्षी–९ स्थित चिल्लागढमा रू ५० लाखको लागतमा फाल्गुनन्दको पूर्णकदका शालीक निर्माण गरिएको चिल्लागढधाम धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष शिशिर तुम्बापोले जानकारी दिनुभयो । पूर्णकदको ढुंगाका शालीक र शालीक राख्ने स्थान गृल लगायतका संरचनासमेत निर्माण गरिएको उहाँले बताउनुभयो ।
आगामी कात्तिक २५ गते फाल्गुनन्दको १३९ औं जन्म जयन्तीको अवसरमा एक लाख ८ हजार १०८ दीप प्रज्वलन गरी शालीक अनावर गर्ने कार्यक्रम रहेको छ । शालीक प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को बाहुलीबाट उद्घाटन गरिने किराँत धर्म साहित्य उत्थान संघका अध्यक्ष डिकेन्द्रसिंह थेगिमले बताउनुभयो ।
चिल्लागढ धामको प्रचार–प्रसार गरी धामको इतिहास र महिमा विश्व सामु पु¥याउन पनि कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।


