
विष्णु आर्चाय वि.पोजेटिभ
चाडपर्वसँगै अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गइरहेको छ । रक्तदान कार्यक्रम नियमित हुन नसक्दा रगत अभाव भएपछि जिल्लाका सरकारी, निजी र सामुदायिक अस्पतालमा आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको छ ।
अझ चाडपर्वको समयमा रक्तदानका कार्यक्रम कम हुने भएका कारण पनि रगत अभाव दिनप्रतिदिन बढ्दै गएको हो । रक्तदान कार्यक्रममा विगतमा जस्तो रक्तदाताको उत्साहजनक सहभागिता घट्दै गएको छ । दसैँअघि रक्तदान कार्यक्रम भए पनि रक्तदाताको सङ्ख्या घट्दा हाल रगतको अभाव भएको छ ।
दैनिक रुपमा सेतो रगतको माग अत्याधिक बढेको कारण पनि रगतको माग बढ्दै गइरहेको छ । चाडपर्वमा अधिकांश सडक दुर्घटना, क्यान्सर बिरामी, डेङ्गो रोगले ताजा (फ्रेस) रगतको माग अत्याधिक बढेको हो ।
रेडक्रस झापाका अनुसार अहिले रक्तसञ्चारमा ए पोजेटिभ र ए वि पोजेटिभ (A+ AB+) रगतको माग निकै बढेको हुँदा यस्ता ग्रुपको रगत पाउन कठिनाइ भएको छ । झापामा पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आएपछि मुलुकभरबाट क्यान्सर बिरामी आउने क्रम बढेको हुँदा क्यान्सर बिरामीको लागि सेतो रगत आवश्यक पर्ने र अधिकांश बिरामीलाई फ्रेस रक्तदाता आवश्यक पर्ने भएकोले गर्दा पनि रगतको माग बढेको छ ।
पछिल्लो समयमा युवायुवती पढाईको शिलशिलमा बिदेश पलायन भएर पनि रक्तदाताको संख्या दिनदिनै घट्दै गएको अवस्था छ । त्यसकारण पनि देशभर अस्पतालमा रगत अभाव देखिएको छ ।
झापामा दैनिक रुपमा ७० देखि ८० पिन्ट रगत खपत भएको देखिन्छ । आपतकालीन अवस्थामा फ्रेस रगतको मागअनुसार रगत आपूर्ति गर्न कठिनाइ भएकाले रगतको अभावमा पीडित मानवलाई जीवनदान दिन सम्पूर्ण रक्तदाता महानुभाव, रक्तदान गर्ने सङ्घसंस्था, रेडक्रसकर्मीमा रक्तदान कार्यक्रमको आयोजना गरिदिनु हुनका लागि हार्दिक अपिल गर्दछु ।
(झापा अर्जुनधारा निवासी आचार्य सामाजिक अभियान्ता हुन्)


