
झापा, १८ कात्तिक । गए राति जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ । राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
हालसम्म प्राप्त जानकारी अनुसार भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ । जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जाजरकोटका डिएसपी सन्तोष रोकाले जनाए । भूकम्पका कारण नलगाड नगरपालिका र भेरी नगरपालिकास्थित खलङ्गा बजारमा धेरै क्षति पुगेको जनाइएको छ ।
भूकम्पका कारण ५५ जना घाइते भएको र घाइतेको संख्या निरन्तर बढिरहेको डिएसपी रोकाले बताए । घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार हुँदै छ । अस्पताले केही घाइतेहरूलाई सुर्खेततर्फ रिफर गरेको छ ।
रुकुम पश्चिममा ३६ जनाको मृत्यु भइसकेको र सो २७ जनाको सनाखत भइसकेको रुकुम पश्चिमा प्रहरी प्रमुख नमराज भट्टराईले बताए । ‘बाँकीको सनाखत गर्ने क्रम जारी छ’, उनले भने । रुकुम पश्चिममा सबैभन्दा बढी आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिका प्रभावित छन् । यहाँ घाइतेको संख्या अस्पतालमा मात्रै ८५ जना भन्दा बढी रहेको छ भने उद्धारको कार्यहरू भइरहेको प्रहरीले जनाएको छ ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


