
बिर्तामोड, १७ कात्तिक । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २७ औं साधारणसभा अन्तरगत अन्तिम माइन्युट प्रमाणिकरण भेला सम्पन्न भएको छ ।
संस्थाले साधारणसभा सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्ग र पत्रकार सन्तोष न्यौपानेलाई सम्मान तथा पुरस्कृत गरेको छ । प्रधानाङ्गलाई एक लाख एक हजार रूपैयाँ राशिको राष्ट्रिय व्यक्तित्व पुरस्कार र न्यौपानेलाई २५ हजार रुपैयाँको सहारा सहकारी पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
पुरस्कृत व्यक्तित्व प्रधानाङ्ग नेपाल बचत तथा ऋण केन्द्रीय सङ्घका पूर्व अध्यक्ष र पत्रकार न्यौपाने एभीन्यूजका झापा सम्वाददाता तथा साझा अनलाइन न्यूज डटकमका सम्पादक हुन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, सहकारी रजिष्ट्रार हरिबहादुर खत्री, संस्थाका अध्यक्ष हरि राजवंशी र कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले संयुक्तरुपमा पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा सभामुख घिमिरे, झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, नेफ्स्कुनका सञ्चालक सदस्य घनश्याम अधिकारी, निमित्त प्रदेश रजिष्ट्रार हरिबहादुर खत्री, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशी, रेडक्रस झापाका सभापति लोकराज ढकाल, पुरस्कृत व्यक्तित्व प्रधानाङ्ग लगायतले मन्तव्य राख्दै संस्थाको अझ प्रगतिको कामना गरेका थिए ।
कार्यक्रममा सहारामा एकीकृत भएका सात वटा सहकारी संस्थालाई प्रमाणपत्र प्रदान गरिएको छ । हाम्रो बहुउेद्दश्यीय सहकारी संस्था मेचीनगर–९, कनकाई बहुमुखी सहकारी संस्था बिर्तामोड–४, जीविको कृषि सहकारी संस्था मेचीनगर–७, नारी चेतना कृषि सहकारी संस्था कनकाई–९, कुमुदिनी साकोस शिवसताक्षी–६, गोदावरी साकोस बिर्तामोड–१ र पृथ्वी साकोस कनकाई–३ लाई सहकारी अभियानलाई मजबुद बनाउन योगदान गरेवापत प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले २०८० असार मसान्तसम्म संस्थामा १ लाख ५७ हजार ६०६ जना शेयर सदस्य आबद्ध भएको बताए । कोशी प्रदेशका ११ जिल्लामा ८० वटा सेवा केन्द्रमार्फत् सेवा प्रदान गरिँदै आएमा चालू आर्थिक वर्षभित्र १० वटा सेवाकेन्द्र थपेर ९० वटा, २ लाख शेयर सदस्य र १९ अर्बको बनाउँदै ६२ करोड नाफा कमाउने लक्ष्य राखिएको उनले बताए ।
संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौलाले गरेका थिए भने कार्यक्रमको सञ्चालन पत्रकार केशव भट्टराईले गरेका थिए । कार्यक्रममा तिहारको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


