
बिर्तामोड, २२ कात्तिक । झापाको मेचीनगरमा मुल कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) को ३१ औं साधारणसभा मंसिर १६ गते हुने भएको छ ।
मंसिर २ गतेदेखि इकाइगत साधारणसभा शुरु भई मंसिर १६ गते अन्तिम माइन्युट प्रमाणिकरण भेला हुने भएको हो । संस्थाले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिकसँगै साधारणसभाका बारेमा जानकारी दिएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले मंसिर २ गतेदेखि ८ गतेसम्म सात वटा इकाइगत साधारणसभा हुने बताउनुभयो । पत्रकारको जिज्ञासाको जवाफ दिँदै उहाँले विश्वव्यापी रुपमा देखिएको आर्थिक संकुचनको असर संस्थामा समेत देखिएको बताउनुभयो ।
संस्थामा एक जना सदस्यले बचत गरेको रकम अर्को सदस्यले ऋणको रुपमा प्रयोग गरेकाले भ्रम र अफवाहको पछि नलागी सदस्यले समयमै कर्जा बुझाउनुपर्नेमा जोड दिनुभयो ।
बचत तथा ऋण, सहकारी पसल, डेरी उद्योग, कृषि र चिया उद्योग गरी पाँच वटा सहकारी व्यवसाय सञ्चालन गरिरहेको एनएमसीले सहकारी पसल केही घाटामा गएको संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीले बताउनुभयो । उहाँले क्रमशः सुधार देखिँदै गएको र सदस्यले उत्पादन गरेको स्थानीय बस्तुको बजारीकरणका लागि सहकारी पसल अनिवार्य भएको बताउनुभयो ।
मुलुकको अर्थतन्त्र संकटमा पर्दा सहकारीले जोगाउन सक्ने भन्दै उहाँले सहकारीको सिद्धान्त भन्दा बाहिर गएका सहकारी समस्यामा गएको बताउनुभयो । उहाँले सहकारीको मूल्य र मान्यता बमोजिम सहकारी संस्था चल्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकार सम्मेलनमा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले संस्थाको समग्र अवस्थाका बारेमा जानकारी दिनुभएको थियो ।
संस्थाको आर्थिक वर्ष २०७९÷०८० को असार मसान्तसम्म सेयर पुँजी १ अर्ब ४० करोड ५ लाख १६ हजार ६ सय रुपैयाँ रहेको छ । संस्थागत पुँजी ७६ करोड ९ लाख २७ हजार ६५९, कूल प्राथमिक पुँजी २ अर्ब १६ करोड १४ लाख ४६ हजार २५९ रहेको छ । संस्थाले सोही अवधिमा ९ अर्ब ४० करोड ७४ लाख १३ हजार २१८ रुपैयाँ बचत संकलन गरेको छ भने १० अर्ब ६३ करोड ३८ लाख २९ हजार १८ रुपैयाँ कर्जा लगानी गरेको छ ।
कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र इलाममा ५८ वटा सेवा केन्द्रमार्फत् सेवा प्रवाह गर्दै आएक एनएमसीमा हाल १ लाख ५३ हजार ८०३ सेयर सदस्य आबद्ध छन् । संस्थाको ५ वटै व्यवसायमा गरी कूल १ हजार १४४ जना कर्मचारी कार्यरत छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


