
अर्जुनधारा, २२ कात्तिक । झापाको अर्जुनधारा नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्न जापानको टोनो सिटी लातेको टोली यहाँ आएको छ ।
चार सदस्यीय जापानी टोलीलाई अर्जुनधारा नगरपालिकामा पञ्चेबाजासहित स्वागत गरिएको छ । अर्जुनधाराको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको अवस्थाबारे जानकारी लिनुका साथै भगिनी सम्बन्ध स्थापित गर्न उनीहरुको टोली यहाँ आएको हो । जापानी टोलीमा टोनो सिटी लते सहरकी उपमेयर सोकी सुजुकी, प्रमुख परीक्षक यासुहिको कुराउची, यिमिको किकुची, अन्तर्राष्ट्रिय सल्लाहकार टोमोनरी किकुची छन् ।
टोलीले अर्जुनधारा नगरपालिको वडा नम्बर ४ र ५ को अवस्थाबारे जानकारी लिनुका साथै अवलोकन गर्ने अर्जुनधारा नगरप्रमुख वलदेवसिंह गोम्देन तामाङले जानकारी दिनुभयो । अर्जुनधारा आएको जापानको टोलीले नगरप्रमुख बलदेव र जापानको टोनोसिटी लाते शहरका मेयरबीच ‘भर्चिुअल मिटिङ’समेत भएको छ ।
नगरको स्वास्थ्य, शिक्षा र कृषि सम्बन्धी अध्ययन–अवलोकन गरेपछि भगिनी सम्बन्ध विस्तारका लागि अगाडि बढ्ने नगरपालिकाले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


