
झापा, ८ मंसिर । झापाको मेचीनगर–१२ स्थित सहरेडाँगीमा महापुराण आयोजना हुने भएको छ ।
मेचीनगर–१२ स्थित पञ्चवटी वीरभद्र महाकाली धामको आयोजनामा यही मंसिर १५ देखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, धन–धान्यञ्चल महापुराण हुने भएको हो । आज मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी महापुराणबारे आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिनुभयो । महापुराणको कथा वाचन भागवत् मञ्जरी पूज्य राधिका दासीले गर्नुहुने उहाँले जानकारी दिनुभयो ।
मन्दिरलाई व्यवस्थित गर्दै सामाजिक तथा धार्मिक भाव फैलाउने, अतिथि सदन र सामुदायिक भवन निर्माण, ज्येष्ठ नागरिक चौतारी निर्माण र जग्गा घेराबारा गर्ने, जिल्लाभित्र र बाहिर धार्मिक पर्यटनलाई बढावा दिने, कोष स्थापना गर्ने उद्देश्यले यो पुराणको आयोजना गर्न लागिएको आयोजिक समितिका अध्यक्ष गिरीले बताउनुभयो ।
मन्दिरको यी कार्यका लागि करिब एक करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने पुराण प्रचार–प्रसार समितिका संयोजक प्रेमराज घिमिरे बताउनुभयो । पुराणको माध्यमबाट थोरबहुत आर्थिक सहयोग संकलनसँगै धार्मिक कार्यक्रम गर्न पुराण आयोजना गर्न लागिएको उहाँको भनाइ छ ।
करिब एक करोड संकलन गर्ने लक्ष्य राखिएको महापुराणका लागि २० देखि २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने दैनिक २ हजार भक्तजन आउने अपेक्षा राखिएको छ ।
२०७२ सालमा मेचीनगर–१२ का रविन्द्र प्रसाईं, गंगादेवी, लक्ष्मी प्रसाईंले उहाँका मातापिता÷ सासुससुरा यशोदा र अभिचन्द्र प्रसाईंको स्मृतिमा मन्दिर निर्माण गरिएको हो । उहाँहरुले मन्दिरको नाममा २ कठ्ठा ३ धुर जग्गा दान दिएकोमा सपर्ट नापीबाट जग्गा थप भई हाल मन्दिरको ६ कठ्ठा ५ धुर जग्गा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमणि प्रसाईंले बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालले महापुराणको सफलताका लागि सञ्चार क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा मन्दिर व्यवस्थापन समिति, पुराण आयोजक समितिका पदाधिकारी एवम् धार्मिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


