
भद्रपुर, ८ मंसिर । झापामा छरुवा धान खेतीको परीक्षण खेती सफल भएको छ ।
झापाको कनकाईमा साढेतीन बिघा क्षेत्रफलमा गरिएको छरुवा धान खेतीको परीक्षण सफल भएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो । उत्पादनमा लागत घटाउने उद्देश्यले कृषि ज्ञान केन्द्र झापाले प्रदर्शनीका रुपमा छरुवा प्रविधिबाट धान खेती गरेको थियो ।
प्रतिबिघा ८० मनको हाराहारीमा धान उत्पादन भएको निमित्त प्रमुख विष्ट बताउनुहुन्छ । “यो प्रविधिबाट धान खेती गर्दा किसानको लागत ३० प्रतिशत घट्छ”, उहाँले भन्नुभयो, “यो प्रविधिमा किसानले जति मेहनत र हेरचाह गर्न सक्यो त्यति फाइदा हुन्छ ।”
छरुवा धान खेतीमा मुख्य समस्याका रुपमा झार रहेको छ । कृषकले झार व्यवस्थापन गर्न सके कम लागतमा राम्रो उत्पादन लिन सक्ने उहाँको भनाइ छ ।
त्यस्तै, धान रोप्ने मेसिनबाट गरिएको खेती समेत राम्रो भएको छ । किसानलाई यान्त्रिकीकरणमा अभ्यस्त बनाउन परीक्षण र प्रदर्शनीका रुपमा कृषि ज्ञान केन्द्रले कमल गाउँपालिका, बिर्तामोड नगरपालिका र गौरादह नगरपालिकामा प्रदर्शनीका रुपमा ८० बिघामा मेसिनले धान रोप्न किसानलाई सहयोग–सहजीकरण गरेको थियो । उक्त धान खेतीमा समेत प्रतिबिघा ८० मनकै हाराहारीमा धान उत्पादन भएको निमित्त प्रमुख विष्टले बताउनुभयो ।
मेसिनको माध्यमबाट धान रोप्दा करिब २० प्रतिशतसम्म लागत खर्च घट्ने कार्यालयले जनाएको छ । मेसिनले धान रोप्न प्रोत्साहित गराउन कार्यालयले चालू आर्थिक वर्ष २०८०/८१ का लागि रू १० लाख अनुदान समेत उपलब्ध गराउने भएको छ ।
चैते धान रोप्ने कृषकलाई मेसिन प्रयोग गर्दा लागेको खर्चको ७५ प्रतिशत अनुदान दिने योजना रहेको निमित्त प्रमुख विष्टले बताउनुभयो । जसबाट दुई सय बिघामा मेसिनले खेती गर्ने किसान प्रत्यक्ष लाभान्वि हुने छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



