
झापा, २० मंसिर । झापाको अर्जुनधाराको माटोमा अम्लीयपन बढी रहेको पाइएको छ । यहाँ हालै गरिएको माटो परीक्षण शिविरमा कृषकले परीक्षणका लागि ल्याएका अधिकांश माटोमा अम्लीयपन बढी र प्राङगारीक पदार्थ कम रहेको पाइएको हो ।
मोटो परीक्षण शिविरमा गरिएको १०९ वटा माटोको नमूना परीक्षणमध्ये १०३ वटामा अम्लीयपन, ३ वटामा क्षारीयपन र ३ वटामा तटस्थ रहेको पाइएको छ । त्यसैगरी, प्राङगारीक पदार्थको मात्रा ६२ वटामा कम, ३५ वटामा मध्यम र १२ वटामा उच्च रहेको छ । सुनसरीस्थित माटो तथा मल परीक्षण प्रयोगशाला र नगरपालिका अन्र्तगतको कृषि विकास शाखाको संयुक्त आयोजनामा दिवसलाई लक्षित गरी कृषकहरुको माटोको अवस्था बारे जानकारी लिने उद्देश्यले मंसीर १७ र १८ गते उक्त शिविरको आयोजना गरिएको थियो ।
गोठे मलको कम प्रयोग, रासायनिक मलको अत्याधिक प्रयोग, कृषि चुनको प्रयोग नहुनु आदि कारणले माटोमा अम्लीयपन बढेको प्रयोगशालाका अधिकृत सन्तोष कट्टेलले जानकारी दिए । माटोमा पीएचको मात्रा ६.५ देखि ७.५ सम्म र प्राङगारिक पदार्थको मात्रा २.५ भन्दा माथि हुनुपर्ने अधिकृत कट्टेल बताउँछन् ।
त्यस्तै परीक्षण गरिएको माटोमा नाइट्रोजन र फसफोरस मात्रा पनि कम भएको पाइएको छ । जसअनुसार नाइट्रोजनको मात्रा ६२ वटामा कम, ३६ वटामा मध्यम र ११ वटामा उच्च तथा फसफोरसको मात्रा ८२ वटामा कम, १० वटामा मध्यम र १७ वटामा उच्च रहेको छ ।
पोटासको मात्रा भने ३१ वटामा कम, ५८ वटामा मध्यम र २० वटामा उच्च पाइएको छ । माटोमा नाइट्रोजन, फसफोरस र पोटासको मात्रा कम हुँदा माटोको गुणस्तरमा ह्रास आउने तथा सबै प्रकारको बाली उत्पादनमा असर पुग्ने शाखाकी प्रमुख एञ्जिला बेडारीले बताइन् । उनका अनुसार त्यसको लागि कृषकहरुले रासायनिक भन्दा पनि अत्याधिक रुपमा प्राङगारीक मलको प्रयोग गर्नुपर्ने सुझाइन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



