
बनियानी, १ मंसिर । कृषकलाई धान काट्ने चटारो रहेका बेला झापाको बिर्तामोड नगरपालिकाले कृषकलाई धान काट्ने मेसिन प्रदान गरेको छ ।
‘कृषिमा आधुनिकीकरण कार्यक्रम’ अन्तरगत नगरपालिकाका ४ वडाका कृषक समूह र कृषि सहकारीलाई ८ थान धान काट्ने मेसिन (रिपर) प्रदान गरिएको नगरपालिकाका कृषि शाखा अधिकृत राजेन्द्र कडरियाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिर्तामोडको वडा नं. २ मा १ थान, वडा नं. ७ मा ४ थान, वडा नं. ९ मा २ थान र वडा नं. १० मा एक थान धान काट्ने मेसिन प्रदान गरिएको हो । रू २ लाख १५ हजार पर्ने धान काट्ने मेसिनमा नगरपालिकाले ८० प्रतिशत अनुदान गरिएको छ भने बाँकी २० प्रतिशत कृषक समूह र कृषक सहकारीले लगानी गरेका छन् ।
बिर्तामोड–९ को सेतो गुराँस कृषि सहकारीका व्यवस्थापक जयकुमार प्रसाईंले कृषि क्षेत्रमा मजदुर अभाव बढ्दै गएको बताउँदै नगरपालिकाले दिएको रिपर मेसिनले कृषकलाई राहत पुगको बताउनुभयो ।
नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले कृषकलाई कृषि औजार दिएर मात्र समृद्धिको उद्देश्य पूरा नहुने बताउनुभयो । ‘कृषकलाई कृषि औजार र अनुदान दिएर मात्र हुँदैन’, उहाँले भन्नुभयो, ‘कृषि औजारको अधिकत् प्रयोग गरेर कृषिमा आधुनकीकरण गर्न आवश्यक छ ।’
जग्गा चक्ला बन्दी गरेर अग्र्यानिक कृषि उत्पादनमा जोड दिन नगरप्रमुख शिवकोटीले आग्रह गर्दै भन्नुभयो, ‘यसो गरे मात्र बिर्तामोड मुलुककै नमूना र समृद्ध नगरपालिका बन्नेछ ।’
नगरपालिकाले आवश्यक प्रक्रिया पूरा गरेर केही समयपछि खेत जोत्ने ८ थान पावर ट्रेलर र २० थान मक्कै छोडाउने मेसिन दिने कृषकलाई प्रदान गर्ने कृषि शाखा प्रमुख कडरियाले जानकारी दिनुभयो । नगरपालिकाले गत वर्ष ८ थान पावर टे«लर र २० थान मक्कै छोडाउने मेसिन वितरण गरेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


