
उर्लाबारी, २ मंसिर । मोरङको उर्लाबारी–६ स्थित पाठशाला कृषि सहकारी संस्थाले चालु आर्थिक बर्ष २०७५÷०७६ मा साग–सब्जी बिक्रीबाट साढे १३ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ ।
स्थानीय सिद्धेश्वर शिवबाबा धामको सभाहलमा शनिबार आयोजित संस्थाको पाँचौ बार्षिक साधारणसभामा अध्यक्ष डीपी खतिवडाले प्रगति प्रतिवेदन तथा बार्षिक कार्ययोजना प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
चार विघा ११ कठ्ठा जग्गा बार्षिक एक लाख ५० हजार रुपैयाँमा भाडामा लिएर गत जेठ महिनादेखि संस्थाले व्यावसायिक सब्जी खेती सुरु गरेको थियो । दुई महिनाको अवधिमा सब्जी खेतीबाट ९८ हजार ११४ रुपैयाँ आम्दानी गर्न सफल भएपछि सोही अनुपातमा संस्थाले चालु आर्थिक बर्षका लागि अनुमानित आय–व्यय तय गरेको हो ।
चालु आ.व.२०७५÷०७६ मा सब्जी खेतीबाट अनुमानित आठ लाख ४० हजार खर्च हुने र १३ लाख ३४ हजार सात सय रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको अध्यक्ष खतिवडाले बताए ।
संस्थाले एकजना कृषि प्राविधिक कर्मचारी राखेर मुला, टमाटर, भिन्डी, बैगुन, परबल, खरभुजा, काँक्रा र बोडी खेती गरेको खतिवडाले बताए । तीमध्ये गएको बर्षायाममा खेतमा पानी जम्दा काँक्रा र बोडीमा क्षति पुर्याएको उनले बताए ।
उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले सो साधारण सभाको मैनबत्ती बालेर उदघटन गरेका थिए । सभा उद्घाटन गर्दै नगर प्रमुख फागोले कृषि प्रयोजनका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


