
सन्तोष शर्मा
झापा, १२ मंसिर । झापामा तोरी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ ।
सरकारी प्रोत्साहनसँगै मूल्य पनि राम्रो पाउन थालेपछि यहाँका किसान तोरी खेतीतर्फ आकिर्षत भएका हुन् । तोरी खेतीलाई प्रबद्र्धन एवम् प्रोत्साहन गर्न स्थानीय तहहरुल अनुदान दिइरहेका छन् भने संघीय सरकारबाट समेत सशर्त अनुदान आएको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।
संघीय सरकारबाट तोरी खेती प्रबद्र्धनका लागि झापाको बुद्धशान्ति गाउँपालिकामा रू २० लाख र मेचीनगर नगरपालिकामा रू ३० लाख आएको उहाँले बताउनुभयो । “स्थानीय तहहरुले समेत आआफ्नो क्षमताअनुसार किसानलाई प्रोत्साहित गरिरहेका छन्”, उहाँले भन्नुभयो, “जसले गर्दा जिल्लामा तेहलन बालीतर्फ किसान आकर्षित भइरहेका छन् ।”
झापामा तोरी खेतीको क्षेत्रफल समेत बढोत्तरी हुँदै गएको छ । गत वर्ष पाँच हजार पाँच सय ८० हेक्टरमा तोरी खेती गरिएकोमा यस वर्ष पाँच हजार आठ सय ४० हेक्टरमा तोरी खेती गरिएको छ । गत वर्ष झापामा छ हजार सात सय ३० मेट्रिक टन तोरी उत्पादन भएको थियो । यो वर्ष उत्पादन बृद्धि हुने आंकलन गरिएको छ ।
यो वर्ष झापाको हल्दिबारीमा सबैभन्दा बढी तोरी खेती गरिएको छ । त्यस्तै, भद्रपुर, कचनकवल, दमक, मेचीनगर, बुद्धशान्ति लगायतका स्थानीय तहमा समेत उल्लेख्य मात्रामा तोरी खेती गरिएको छ ।
गत वर्ष शुरुवातमै रू पाँच हजार चार सय प्रतिमन (४० केजीको) बिक्री भएको तोरी यो वर्ष करिब रू छ को हाराहारीमा पुग्ने अनुमान छ । उत्पादित तोरीको मूल्य राम्रो हुनुका साथै अनुदानसमेत पाइने भएपछि किसान तोरी खेतीमा आकर्षित भएको देखिन्छ ।
स्थानीय तहको प्रोत्साहन
यता, भद्रपुर नगरपालिकाले तेलहन उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ तोरी खेतीमा अनुदान कार्यक्रम लागू गरेपछि यो वर्ष यहाँका किसानले ५३३ हेक्टरमा तोरी खेती गरेका छन् । गत वर्ष भद्रपुरमा २०० हेक्टरमा तोरी खेती गरिएको थियो ।
नगरभरिका ८८९ किसानले ५३३ हेक्टर क्षेत्रफलमा तोरी खेती गरेको विवरणसहित अनुदानका लागि आवेदन दिएको नगरका कृषि शाखा प्रमुख सुमन बिमलीले जानकारी दिनुभयो ।
तोरी खेती प्रबद्र्धनका लागि नगरपालिकाले न्युनतम १० कट्ठा खेती गर्ने किसानलाई प्रतिकट्ठा रू छ सय अनुदान दिने गरेको उहाँले बताउनुभयो । गत वर्ष नगरपालिकाले तोरी खेती गर्ने किसानलाई रू २३ लाख अनुदान उपलब्ध गराएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


