
भद्रपुर, १७ पुस । झापाको भद्रपुर नगरपालिका–१० स्थित शुभसाइत बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ता सदस्यहरुको बचत फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ ।
आज भद्रपुरमा पत्रकार भेटघाटको आयोजना गरी संस्थाले त्यस्तो प्रतिबद्धता जनाएको हो । तरलता अभावका कारण बचतकर्ताको रकम फिर्ता गर्न समस्या भइरहेकाले हरसम्भव प्रयास गरेर बचतकर्ताको बचत फिर्ता गरिने संस्थाका उपाध्यक्ष सञ्जोक गिरीले बताउनुभयो ।
‘बजारमा ठूलो रकम ऋण लगानी भएको छ’, उहाँले भन्नुभयो, ‘ऋण असुलीमा समस्या भएकाले बचत फिर्ता गर्न समस्या भइरहेको छ ।’ उहाँले सदस्यलाई केही समय धैर्य धारण गर्नुका साथै ऋण असुली गर्ने वातावरण सिर्जना गरिदिन अपील गर्नुभयो ।
बचत फिर्ताका लागि सदस्यको दबाब आइरहेको र कार्यालय सञ्चालन गर्ने समेत वातावरण नहुँदा थप समस्या भएको उपाध्यक्ष गिरीको भनाइ छ । २०७७ सालमा स्थापना भएको शुभसाइतमा हाल करिब दुई हजार सदस्य आबद्ध छन् ।
बजारमा १५ हजारदेखि ५ लाख रुपैयाँसम्म लगानी भएको सहकारीले जनाएको छ । २२६ जना सदस्यलाई करिब १ करोड ५० लाख रुपैयाँ लगानी रहे पनि ऋण असुलीमा समस्या हुँदा बचत फिर्तामा समस्या देखिएको उहाँको भनाइ छ । कूल ३० लाख शेयर पुँजी रहेको सहकारीले करिब २ करोड रुपैयाँ बचत फिर्ता गर्नुपर्ने जनाइएको छ ।
‘सकेसम्म स्रोत व्यवस्थापन गरी सहकारीको आर्थिक पाटो सहज बनाउने कोसिस गरिरहेका छौं’, उपाध्यक्ष गिरीले भन्नुभयो, ‘हामीलाई केही समय स्रोत जुटाउन समय लाग्छ, विस्तारै सदस्यको बचत फिर्ता गर्छौं, कसैको पैसा डुब्दैन ।’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


