
सन्तोष शर्मा
झापा, २६ पुस । झापामा सहकारीमार्फत् रू ७० अर्ब भन्दा बढी पुँजी परिचालन भएको छ ।
जिल्लामा रहेका सहकारीमार्फत् रू ७० अर्बभन्दा बढी पुँजी परिचालन भएको झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले जानकारी दिनुभयो । जिल्लाको कूल जनसंख्यामध्ये ४५ प्रतिशत जनसंख्या सहकारी अभियान जोडिएको उहाँले बताउनुभयो ।
“सहकारीमार्फत् परिचालित पुँजीले यहाँका विपन्न वर्गमा वित्तीय पहुँच स्थापित भएको छ”, उहाँले भन्नुभयो, “जसले स्वरोजगार सिर्जनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।”
सहकारीमार्फत् परिचालित पुँजी कृषि, उद्योग, व्यापार, यातायात, शिक्षा, स्वास्थ्य, पशुपालन, दुध उत्पादन, वैकल्पिक ऊर्जा लगायतका क्षेत्रमा लगानी भएको जनाइएको छ ।
पछिल्लो समयमा झापाका सहकारीमा ऋण असुलीमा समस्या देखिएको छ । सहकारीबाट लिएको ऋण तिर्नु पर्दैन भन्ने भ्रमका कारण सहकारी संस्थाको ऋण असुलीमा समस्या देखिएको हो । “वित्तीय संकटको फाइदा उठाउँदै वित्तीय कारोबार गर्ने सहकारी लगायतमा ऋण तिर्नुपर्दैन भन्ने भ्रमण सहकारी अभियानलाई असर गरेको छ”, अध्यक्ष ढकालले भन्नुभयो, “सदस्यलाई ऋण तिर्न प्रेरित गर्न राष्ट्रिय अभियान नै चलाउनुपर्ने देखिन्छ, यसमा राज्यको सहयोग अपरिहार्य छ ।”
झापामा ८०२ वटा सहकारी दर्ता भएकोमा ५८ वटा खारेज भएका छन् । “स्थानीय तहहरुले सहकारीको नियमन गर्न थालेयता र सहकारी मर्ज हुने क्रम बढेसँगै सहकारीको संख्या घटबढ भइरहेको छ”, संघका सचिव भवानीप्रसाद दंगालले भन्नुभयो, “सहकारीको साधारणसभा पुस मसान्तसम्म हुने र १५ दिन रिपोर्ट बुझाउने अवधि हुने भएकाले त्यसपछि मात्र यकिन तथ्यांक आउँछ ।”
झापा जिल्ला सहकारी संघमा ४९२ वटा सहकारी संस्था आबद्ध छन् । जसमा बहुउद्देश्यीय ७४, बचत तथा ऋण, कृषि सहकारी १९३÷१९३, दुग्ध र सुपारी छ/छ, चिया र उपभोक्ता चार/चार, विविध आठ र संघ चार वटा आबद्ध रहेको सचिव दंगालले बताउनुभयो । झापाका सहकारीमा पाँच हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।


