
झापा, ५ माघ । झापा कनकाई नगरपालिका–७ का ९० वर्षीय हरिध्वज खत्री तिमिल्सिनाले नेपालमा बसोबास गर्ने विभिन्न जातजाति र उनीहरुको गोत्रको विषयलाई समेटेरे ‘नेपाल मण्डल’ पुस्तक लेखेका छन् ।
करिब १० वर्ष लगाएर उनले उक्त पुस्तक लेखेका हुन् । नेपाल निर्माता पृथ्वीनारायण शाहले ‘नेपाल चार जात ३६ वर्णको साझा फूलबारी हो’ भन्नु भए पनि अहिले नेपालमा चार जात १२४ वर्ण पुगिसकेको उनको भनाइ छ । जसमध्ये चार जात ९२ वर्णको बारेमा तथ्यपरक जानकारीसहित पुस्तक प्रकाशन गरेको उनी बताउँछन् ।

लोपोन्मुखदेखि बहुसंख्यकसम्मका जातजातिको थर र उनीहरुको गोत्रका बारेमा पुस्तकका उल्लेख गरिएको छ । नेपालका विभिन्न भू–भागमा रहेका मानिसको थर कसरी रहन गयो भन्ने विषयमा समेत पुस्तकमा संक्षिप्त चर्चा गरिएको छ ।
पुस्तकमा दुई खण्ड र १५ अध्याय रहेका छन् । पहिलो खण्डमा आठ वटा अध्याय छन् भने दोस्रो खण्डमा सात वटा अध्याय छन् । पहिलो खण्डका आठ अध्यायमा ‘अ’ देखि ‘ह’सम्मको स्वर वर्णद्वारा उच्चारित थरहरु उल्लेख छन् भने दोस्रो खण्डमा ‘अ’ देखि ‘ह’सम्मको स्वर वर्णद्वारा उच्चारित गोत्रहरु उल्लेख छन् ।
पहिलो खण्डमा उराउ, कत्युरी, करुवा, कागते, कुमाल, किसान, बातर, कुशबाडिया, कुसुण्डा, कुसुले, खटिक, देवकी, खडिया, गनगाई, गन्धर्व, गुरुङ, चमार, चिडिमार, चिन्तान, चेपाङ, चाँई, छन्त्याल, छिन्तन, छैरोतन, जिरेल, जेरुङ, झाँगड, डुक्पा, डोम, डोल्पो, ताङबे, ताजपुरिया, तामाङ, तोक्पेगोला, तिलुङ, तिलुङा, थकाली, थामी, थारु, थुदाम, दनुवार, दराई, दर्जी, दमाई, दशनामी, दुरा, धानुक, धिमाल लगायत जातजातिका थरहरुको बारेमा उल्लेख गरिएको छ ।
चार सय ५६ पृष्ठको ‘नेपाल मण्डल’को मूल्य रू चार सय ४५ रहेको छ । करिब एक दशक लगाएर पुस्तक निकालेको बताउँदै लेखक तिमिल्सिनाले भने, “पाठकका लागि जानकारीमूलक खुराकको रुपमा पुस्तक रहेको छ, यसले नेपालको विभिन्न जातजातिको अवस्थितिबारे थाहा पाउन सकिन्छ ।” पछिल्लो पुस्तक पढ्ने क्रम घट्दै गएकाले पठन संस्कृतिको विकास गर्नुपर्नेमा उनको जोड छ ।
लेखक तिमिल्सिनाले यस अघि नेपालको इतिहास समेटिएको पहिलो पुस्तक ‘नेपाल’ मा लेखिसकेका छन् । जसमा तत्कालीन तीन हजार ९ सय १५ वटा गाउँ विकास समितिको नामाकरण के–कसरी भयो भन्ने उल्लेख छ । ‘नेपाल नेवारी’ पुस्तक प्रकाशोन्मुख अवस्थामा रहेको उनी बताउँछन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


