
सन्तोष शर्मा
झापा, ५ मंसिर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत आलु पकेट क्षेत्र घोषणा गरिएको झापा कमल गाउँपालिका–२ का कृषक आलुखेती विस्तारमा जुटेका छन् ।
आधुनिक कृषि–प्रविधिको प्रयोग गर्दै यहाँका कृषक सामुहिक खेती गर्दै खेती विस्तारमा जुटेका हुन् । गत वर्ष आलु पकेट क्षेत्र घोषणा भएपछि यहाँका कृषकले १८ बिघामा आलु खेती गरेका थिए भने यस वर्ष खेती विस्तार गर्दै ४० बिघामा आलु खेती गर्न लागिएको आलु पकेट क्षेत्रका संयोजक यामबहादुर राईले जानकारी दिनुभयो ।
‘आलु पकेट क्षेत्रलाई घोषणा भएपछि यहाँका कृषक सामुहिक अग्र्यानिक आलु खेतीतर्फ आकर्षित भएका छन्’, संयोजक राईले भन्नुभयो, ‘यहाँका ६० जना कृषकले अहिले तीन वटा समूह बनाएर सामुहिक आलु खेती गरिरहेका छन् ।’
कृषक राधा आचार्यले आफूले ८ कठ्ठामा आलु खेती गरेको बताउनुभयो । ‘आलु खेतीबाट राम्रो आम्दानी लिन सकिने रहेछ’, उहाँले भन्नुभयो, ‘यहाँको माटो पनि आलुखेतीका लागि उपयुक्त छ ।’
गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले कृषिमा आधुनिकीकरण गर्ने योजना अुनरुप कृषकलाई सहयोग गरिरहेको बताउनुभयो । ‘प्रांगारिक मल उत्पादन र वितरण गरिरहेका छौँ’, अध्यक्ष काफ्ले भन्नुभयो, ‘अग्र्यानिक गाउँपालिका बनाउन कृषकसँग छफलका साथै विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएका छौँ ।’
गाउँपालिकाले प्रांगारिक मल उत्पादन गर्न गत वर्ष रू ५ लाख र यस वर्ष रू १० बजेट बिनियोजन गरेको छ भने कृषि क्षेत्रको विकासका लागि रू २ करोड बजेट छुट्याएको छ ।
आलु पकेट क्षेत्रलाई बढाएर ब्लक, जोन हुँदै सुपरजोन बनाउने लक्ष्यका साथ गाउँपालिका अघि बढेको गाउँपालिका उपाध्यक्ष बेणु शिवाकोटीले बताउनुभयो । ‘अहिलेसम्म हामी परम्परागत रुपमै खेती गर्दै आएका छौँ’, उहाँले भन्नुभयो, ‘कृषिलाई आधुनिकीकरण नगरेसम्म समृद्धि हासिल हुन सक्दैन, त्यसैले गाउँपालिकाले कृषिलाई विशेष प्राथमिकता दिएको छ ।’
कृषिकले आफूले उत्पादन गरेको खानेकुरा आफैँ नखाने उहाँले उल्लेख गर्नुभयो । ‘किसानले दुध उत्पादन गर्न, फेन्टा खान्छ, भटमास उत्पान गर्छ, चाउचाउ गर्छ’, उहाँले भन्नुभयो, ‘अब कृषकले उत्पादन गरेको वस्तुको परिकार बनाउन गाउँपालिकाले तालिम दिन्छ ।’ गाउँपालिकाको दुई स्थानमा अग्र्यानिक पसल सञ्चालनको तयारी भइरहेको समेत उहाँले बताउनुभयो ।
यहाँस्थित आइपीएम कृषि सहकारीले कृषकलाई तरकारी खेतीमा सहयोग गर्दै आएको छ । मल, उन्नत जातको बिऊ, जैविक विषादि लगायत कृषकलाई उपलब्ध सहकारीले सहयोग गरिरहेको सहकारीका कोषाध्यक्ष टंक कट्टेलले बताउनुभयो ।
गत वर्ष १८ बिघामा गरिएको आलु खेतीबाट ११ सय मन आलु उत्पादन भएको बताउँदै उहाँले भन्नुभयो, ‘यो वर्ष क्षेत्रफल बढाएर आलु खेती गरिएको छ, यस वर्ष ६ हजार ५ सय मन आलु उत्पादन गर्ने लक्ष्य छ ।’
आलु खेतीका लागि स्थानीय किसानलाई आवश्यक तालिम र उपकरणमा कारितास नेपालले सहयोग गरिरहेको छ । कारितासका कार्यक्रम अधिकृत देवेन्द्र पोखरेलले समूह गठन गरी किसानलाई आलु खेतीका लागि प्रोत्साहित गर्नुका साथै कृषि औजार खरीदमा सहयोग गरिएको जानकारी दिनुभयो ।
कृषकले खेतमा डेजीरे, कार्डिनल, खुमल, खुमल रातो लगायत उन्नत जातका आलुका बिऊ रोपेका छन् । अरु आलु रोपेको चार महिना फल्ने र यी जातका आलु तीन महिनामै फल्ने कृषि ज्ञान केन्द्र (साविक जिल्ला कृषि विकास कार्यालय) झापाका बरिष्ठ प्राविधिक खीरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


