
झापा, ६ माघ । झापाको हल्दिबारी गाउँपालिकामा उल्लेख्य मात्रामा तोरी खेती गरिएको छ ।
गाउँपालिकाका पाँच वटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिनुभयो । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बिऊ वितरण गरेको उहाँले बताउनुभयो ।

प्रतिहेक्टर १ दशमलव ९ मेट्रिक टन तोरी उत्पादन प्रारम्भिक अनुमान गाउँपालिकाको छ । हल्दिबारीमा तोरी खेतीका लागि माटोसमेत उपयुक्त छ । अहिले यहाँका खेत तोरी फुलेर पहेँलपुर भएका छन् ।

हल्दिबारी–२ का कृषक डम्बरप्रसाद चम्लागाईंले तोरी खेतीबाट राम्रो आम्दानी लिन सकिने बताउनुभयो । “अरु बालीमा जस्तो झन्झट छैन”, उहाँले भन्नुभयो, “मूल्य पनि राम्रो छ ।” गत वर्ष प्रतिमन रू छ हजारमा तोरी बिक्री भएको उहाँले बताउनुभयो । तोरीमा औषधि छिट्दै भेटिनुभएका हल्दिबारी–२ का कृषक खगेन्द्र घिमिरेले अगुवा तोरी खेती राम्रो भए पनि पछुवा खेतीमा केही समस्या भएको बताउनुभयो ।
यो वर्ष झापा जिल्लाभरिमा सबैभन्दा धेरै हल्दिबारीमा तोरी खेती गरिएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा रू ७ लाख ५० हजार बराबरको तोरी वितरण गरेको र सोबाट २५ सय किसान प्रत्यक्ष लाभाविन्त भएको गाउँपालिकाका कृषि शाखा प्रमुख छवि गुरुङले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



