
सन्तोष शर्मा
झापा, ६ माघ । झापाको हल्दिबारीमा एकता बहुउद्देश्यीय सहकारीले तोरीको तेल उत्पादन र प्रशोधन शुरु गरेको छ । कृषकले उत्पादन गरेको तोरी खरीद गरेर तेल उत्पादन तथा बिक्री वितरण गरिरहेको संस्थाका अध्यक्ष हरिकृष्ण अधिकारीले बताउनुभयो ।
“किसानले उत्पादन गरेको तोरी खरीद गरेर तेल उत्पादन गरिरहेका छौं”, उहाँले भन्नुभयो, “सहुलियतमा किसानलाई कृषि सामग्री र मल–बिऊ पनि उपलब्ध गराउने गरेका छौं ।” कृषकलाई तोरी खेती गर्न प्रौत्साहनसँगै उत्पादनलाई बजारीकरण गर्नका लागि तेल मिल सञ्चालन गरेको उहाँको भनाइ छ ।
शुरुमा तेल मिलका लागि गाउँपालिकाले सहयोग गरेको थियो भने कृषि ज्ञान केन्द्र झापाले गत आव २०७९/८० मा सहकारीलाई तेल फिल्टर र प्याकेजिङ मेसिनका लागि रू १५ लाख अनुदान समेत उपलब्ध गराएको छ । “खाद्य गुणस्तरको अनुमति लिएपछि ब्राण्डिङ गरेर बजारमा लान्छौं”, उहाँले भन्नुभयो ।
सहकारीले हाल खुद्रा खरीद गर्नेलाई रू चार सय २० प्रतिलिटर तेल बिक्री गरिरहेको छ भने ५० लिटर भन्दा बढी खरीद गर्नेलाई रू चार सय प्रतिलिटर दिने गरेको संस्थाकी व्यवस्थापक उमा राईले बताउनुभयो । बजारमा पाइने अन्य तेलको तुलनामा महँगो भएकाले जिल्लाका सुपरमार्केट र डिपार्टमेन्ट स्टोरहरुमा तेल बिक्रीका लागि राखिएको उहाँको भनाइ छ ।

हल्दिबारीकै प्रभात बहुउद्देश्यीय सहकारीले समेत तोरी मिल सञ्चालन गरिरहेको छ । प्रभातलाई समेत कृषि ज्ञान केन्द्रले तोरी पेल्ने मेसिन र फिल्टर जडानका लागि रू १५ लाख अनुदान उपलब्ध गराएको छ ।
“तेल उत्पादनका लागि ५० प्रतिशत लागत सहभागितामा अनुदान दिइएको थियो”, निमित्त प्रमुख सागर विष्टले भन्नुभयो, “अघिल्लो वर्ष अनुदान दिए पनि यो वर्षदेखि कार्यान्वयनको चरण आउँदैछ ।”
सहकारीले स्थानीय स्तरमै तोरीको तेल उत्पादन गरेर बिक्री गरिरहेका छन् । सहकारीले प्याकेजिङ गरेर बजारमा पु¥याउन प्रज्ञापन पत्र लिने तयारीसमेत गरिरहेका छन् । सहकारीद्वारा उत्पादित तेल तुलनात्मक रुपमा महँगो भए पनि गुणस्तर राम्रो भएकाले बजार राम्रो रहेको निमित्त प्रमुख विष्ट बताउनुहुन्छ ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



