
बिर्तामोड, ९ माघ । झापाको अर्जुनधारा नगरपालिका–१० चुथाईमा अवस्थित जलकन्या देवी मन्दिरमा श्रीमद् भागवत महापुराण तथा धन धान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ ।
मन्दिर परिसरमा माघ ११ गतेदेखि १८ गतेसम्म महायज्ञ हुने भएको हो । मन्दिरको भौतिक विकास र धार्मिक पर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको आज मन्दिरको प्रांगणमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
मन्दिरलाई सबै धर्मको साझा आस्थाको केन्द्रविन्दुको रुपमा विकास गर्ने उद्देश्यले पाँचौं धार्मिक अनुष्ठानको रुपमा महायज्ञको आयोजना गर्न लागिएको पुराण आयोजक समितिका सचिव ओमप्रकाश भट्टराईले जानकारी दिनुभयो ।
परापूर्व कालदेखि स्थानीय आदिवासीहरुबाट देवीस्थानको रुपमा पूजाअर्चना हुँदै आएको उक्त मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ महायज्ञ गर्न लागिएको स्थानीय तथा सामाजिक व्यक्तित्व लवकुश गौतमले बताउनुभयो ।
मन्दिर व्यवस्थापनको लागि आवश्यक अक्षयकोषको स्थापना, मन्दिर परिसर घेराबारा तथा अन्य भौतिक पूर्वाधारहरु निर्माण, गौतम बुद्धको प्रतिमा स्थापना, जलाशय तथा दुर्लभ वृक्षहरुको संरक्षण गर्नु उक्त अनुष्ठानको अर्को उद्देश्य रहेको उहाँले बताउनुभयो ।
बिर्तामोड निवासी धार्मिक व्यक्तित्व झुमादेवी बस्नेतले उद्घाटन गर्ने उक्त महायज्ञको प्रमुख वाचक पण्डित अर्जुन भट्टराई र उपवाचक पण्डित रोशन भट्टराई रहेका छन् । माघ १८ गतेसम्म सञ्चालन हुने महायज्ञ अन्र्तगत दैनिक पूजाअर्चना, आरती, कथा प्रवचन, सन्ध्या आरती, भजनकीर्तन, महात्म्य कथा, झाँकी प्रदर्शन, दाता सम्मानलगायतका कार्यक्रम हुने बताइएको छ ।
महायज्ञबाट अक्षयकोषको लागि जम्मा ३० लाख रुपैयाँसहित अनुमानित ५० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको छ । महायज्ञ सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च हुने महायज्ञ मूल आयोजक समितिका सहसंयोजक कृष्णप्रसाद चापागाईंले जानकारी दिनुभयो ।
विगत २८ वर्षदेखि मन्दिरको स्तरोन्नतिमा खटिदै आउनुभएका अध्यक्ष बलबहादुर कटुवालले भौतिक विकासका लागि तीनै तहको सरकार समक्ष प्रस्ताव समेत पेश गरिसकिएको बताउनुभयो । एक बिघा भन्दा बढी जग्गा रहेको मन्दिरको विकास गर्न सके धार्मिक पर्यटनको गतिलो गन्तव्य हुने जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


