
बिर्तामोड, १७ माघ । झापा बिर्तामोड नगरपालिका–७ का २४० जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा ब्ल्यांकेट वितरण गरिएको छ ।
सिम्रिक बचत तथा ऋण सहकारी संस्था, बिर्तामोड वडा नं. ७ वडा कार्यालय र सुन्दर निचाझोडा सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रुपमा यहाँका २४० जना जेष्ठ नागरिकलाई ब्ल्यांकेट प्रदान गरेका हुन् । ज्येष्ठ नागरिकलाई ब्ल्यांकेटका साथै मिष्ठान भोजन समेत खुवाइएको थियो ।
बिर्तामोड–७ स्थित शहिद नेत्र स्मृति पार्कमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ज्येष्ठ मातापिता अमूल्य निधि भएको बताउनुभएको थियो । कार्यक्रममा प्रदेश सभा सदस्य एकराज कार्की, बिर्तामोड नगरपालिका नगरप्रमुख पवित्रा महतारा प्रसाईं, सामुदायिक वनका अध्यक्ष बद्री प्याकुरेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–७ का वडाध्यक्ष कृष्ण अविरल खरेलले स्वागत, कार्यक्रमको औचित्यमाथि सिम्रिकका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहकारीका कर्जा जोखिम विभाग प्रमुख विजय बस्नेतले गर्नुभएको थियो ।
संस्थाका कार्यकारी बस्नेतले संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत कचनकवलमा स्वास्थ्य शिविर, बाह्रदशी र बिर्तामोड–६ बुट्टाबारीमा जेष्ठ नागरिकलाई ब्ल्यांकेट वितरण गरिसकिएको बताउनुभयो । उहाँ पाँचथरको यासोकमा न्यानो कपडा वितरण गर्न लगिएको समेत बताउनुभयो ।
संस्थाका अध्यक्ष सुवास भट्टराईले सहकारीले जन्मदेखि मृत्यु पर्यन्तसम्म सदस्यको हितमा काम गर्दै आएको बताउनुभयो । उहाँले सामाजिक उत्तरदायित्व बहन गर्दै सिम्रिकले कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्नुभयो ।
झापा, मोरङ, इलाम र पाँचथर गरी चारवटा जिल्लाका ५० वटा सेवा केन्द्रमार्फत संस्थाले सेवा प्रवाह गरिरहेको सिम्रिकमा ६१ हजार भन्दाबढी शेयर सदस्य आबद्ध छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


