
शिवसताक्षी, १२ फागुन । झापा शिवसताक्षी नगरपालिका–५ भेलामुनीमा भेलामुनी धार्मिक तथा पर्यटकीय क्षेत्र निर्माण कार्य अन्तर्गत भेलामुनी कनकाई माई भगवतीको मन्दिर निर्माण गरिएको छ ।
आज एक कार्यक्रमका बीच उक्त मन्दिरमा कनकाई भवगतीको प्राण प्रतिष्ठा गरिएको हो । वडा नं. ५ का स्थानीयबासीले कनकाई माईको जल लिई कलश यात्रा पश्चात कनकाई भगवतीको प्राण प्रतिष्ठा गरिएको थियो ।
आजै शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उक्त मन्दिरको उद्घाटन समेत गरेका छन् । मन्दिर उद्घाटनका क्रममा बोल्दै नगर प्रमुख थोप्राले नगरपालिकाको नामै शिवसताक्षीको नामले नै धार्मिक एकताको सन्देश दिएको बताए ।

‘नगरमा सताक्षीधाम, चिल्लागढ, माइधाम, दोमुखा धार्मिक तथा पर्यटकीय क्षेत्र रहेकोमा अब भेलामुनी धार्मिक तथा पर्र्यटकीय क्षेत्र थपिएको छ’, उनले भने, ‘नगरको तल्लो भेगका बासिन्दाको आस्थाको केन्द्रको रुपमा वडाले कनकाई माईको तटलाई एउटा धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर राम्रो काम गरेको छ । यसलाई शिवसताक्षी नगरपालिकाले थप संरचना निर्माणको लागि सहयोग गर्नेछ ।’
कार्यक्रममा वडाध्यक्ष सिकिन पासवानले गत वर्ष वडाले विनियोजन गरेको ९ लाखले कनकाई भगवतीको मन्दिर निर्माण गरेको जानकारी दिए । शिवसताक्षीको वडा नं. ५ नगरकै पछि परेको वडा भएकाले यसलाई वडा गौरवको रुपमा धार्मिक तथा पर्यटकीय स्थलको विकास गरी पर्यटन भित्र्याउने उद्देश्य रहको उनले बताए ।

चालु आ.व.मा क्षेत्रको थप विकासका लागि वडाले २० लाख बजेट विनियोजन गरेको हाल त्यही अनुसार काम भइरहेको उनले बताए । उनले भने, ‘वडाले निर्माण गरेको कनकाई भगवतीको मन्दिर यो नेपालकै पहिलो हो । उक्त क्षेत्रमा आजबाट ७ दिन सम्म धार्मिक उत्सव मनाइँदैछ ।’ कार्यक्रममा ७ दिनसम्म पुरानो कृष्ण लीलाको धार्मिक नाच प्रस्तुत गरिने उनले बताए । बाह्रदशीको करिब ५० जनाको टोलीले तीन÷चार दिनसम्म कृष्ण लीला नाच प्रस्तुत गर्ने उनले जानकारी दिए ।

भेलामुनी धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष पूर्व वडाध्यक्ष सत्यनाराण राजवंशीले पिछडिएको क्षेत्रको विकासका लागि वडाले धार्मिक तथा पर्यटकीय क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए । पहिलो चरणमा यहाँ मन्दिर निर्माण गरिएको अब आवश्यक पूर्वाधारहरु निर्माण गर्दै लगिने उनको भनाइ छ ।
पर्यटकीय क्षेत्रका आवश्यक जग्गाको लागि पनि स्थानीयबासीसँग कुरा भइरहेको अध्यक्ष राजवंशीको भनाइ थियो । भेलामुनी पर्यटकीय क्षेत्र पूर्व पश्चिम लोकमार्गको दूधे बजारबाट करिब १३ किलोमिटर दक्षिणमा पर्छ भने हुलाकी राजमार्गबाट उत्तर करिब ८ किलोमिटरको दुरीमा पर्छ । वडाल उक्त क्षेत्रमा कनकाई भगवतीको मन्दिर, पर्यटकहरुलाई फोटो खिच्ने स्थान, कनकाई माइ तर्फबाट गेट निर्माण गरिसकेको छ ।
उक्त क्षेत्रमा आजबाट ७ दिनसम्म उत्सव मनाइने समेत बताएको छ । कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विष्णप्रसाद प्रसाई, वडा सदस्यहरु र स्थानीय बासीहरुको बाल्लो उपस्थिति रहेको थियो ।


