
बिर्तामोड, २१ फागुन । झापाका ८४ जना सहिद तथा वेपत्ता परिवारलाई सहिद स्मृति दिवसको अवसरमा सम्मान गरिएको छ ।
सहिद स्मृति प्रतिष्ठान नेपाल झापाले आज बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानको सभा हलमा सहिद स्मृति कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो ।
फागुन १४ गतेदेखि शुरु सप्ताहव्यापी कार्यक्रमको आज समापनको अवसरमा कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले सहिद तथा वेपत्ता परिवारका सदस्यलाई सम्मान गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले सहिद परिवारलाई राहत र सहयोगका लागि प्रदेश सरकारले विशेष प्राथिमतामा राखेको बताउनुभयो । “सहिद तथा वेपत्ता परिवारलाई प्रदेश सरकारले एक लाख रुपैयाँ दिने निर्णय गरेर काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “पुराना कार्यक्रमलाई निरन्तरता दिँदै आगामी बजेट नयाँ कार्यक्रम ल्याउँछौं ।”
सहिद तथा बेपत्ता परिवारलाई सरकारले विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । सहिद र बेपत्ताको योगदानले मुलुकमा परिवर्तन सम्भव भएको बताउँदै उहाँले भन्नुभयो, “उनीहरुको योगदानलाई गौरव र सम्मान गर्नुपर्छ, सहिदले देखेको सपनाबाट कोही पनि विचलित हुनु हुँदैन ।”
सामाजिक मन्त्रालयको जिम्मेवारी पाएकाले आफ्नो कार्यक्षेत्रभित्र रहेर शिक्षा, युवा, बालबालिका, महिला, ज्येष्ठ नागरिक लगायतका क्षेत्रमा नयाँ काम गर्ने अठोटका साथ आफू अघि बढेको उहाँको भनाइ छ । “नीतिगत सुधारका लागि प्रयत्न गरिरहेको छु”, उहाँले भन्नुभयो ।
कार्यक्रममा सहिद परिवारका रत्न घिमिरे र लालसुन्दर राईले सरकारले सहिद परिवारलाई बेवास्ता गरेको गुनासो गर्नुभयो । उहाँहरुले सहिदको बलिदानीले व्यवस्था परिवर्तन भए पनि अवस्था नफेरिएको उल्लेख गर्नुभयो । कम्युनिष्ट नेताहरुले सहिदको सपना र भावना अनुरुप नचलेको उनीहरुले बताउनुभयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) केन्द्रीय सदस्य झलकसिंह दर्लामी, नेकपाका केन्द्रीय सदस्य सुमन सी, नेकपा एकीकृत समाजवादीका झापा अध्यक्ष बेदराज रेग्मीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सहिद प्रतिष्ठान नेपाल झापाका अध्यक्ष निर्मल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका सचिव विरेन्द्र बस्नेतले गर्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


