
सन्तोष शर्मा
बिर्तामोड, ३० फागुन । झापाको बिर्तामोडमा आज अलैंची ग्रेडिङ मेसिनको परीक्षण गरिएको छ ।
स्थानीयस्तरमै निर्माण गरिएको उक्त मेसिनको अलैंची व्यवसायी महासंघको कार्यालय परिसरमा परीक्षण गरिएको हो । स्वीस सरकारको सहयोगमा सञ्चालित सहज परियोजनाको सहयोगमा झापाको कमल गाउँपालिकास्थित कामक्ष एग्रो इन्जिनियरिङले उक्त मेसिन निर्माण गरेको जनाइएको छ ।
कामक्ष एग्रोका सञ्चालक कृष्णप्रसाद अधिकारीले स्थानीय स्तरमै पाइनले सामग्रीको प्रयोग गरेर मेसिन निर्माण गरिएको बताउनुभयो । मेसिन परीक्षणकै क्रममा रहेकाले अझै परिमार्जित गरिने बताउनुभयो । “स्थानीय सामानको प्रयोग गरेर मेसिन बनाएका हौं”, उहाँले भन्नुभयो, “एउटा मेसिनको अधिकतम् मूल्य ५० हजार पर्छ ।”
उत्पादनलाई प्रविधिसँग जोड्नका लागि मेसिन निर्माणमा सहयोग गरिएको सहज कार्यक्रमका प्रतिक देवकोटाले बताउनुभयो । “हामीले किसान र व्यवसायी दुवैलाई लक्षित गरेर सस्तोमा मेसिन बनाउने काम गरेका हौं”, उहाँले भन्नुभयो, “यसले लागत घटाउनुका साथै काम गर्न सहज हुने विश्वास छ ।”
मेसिनको परीक्षण सफल भएपछि कम लागतमा अलैंची ग्रेडिङको काम हुने अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले बताउनुभयो । “अहिले हाते जालीबाट अलैंची ग्रेडिङको काम भइरहेको छ”, उहाँले भन्नुभयो, “मेसिनले लागत र समय बचत हुने विश्वास छ ।”
केही अलैंची व्यवसायीले भारतबाट मेसिन खरीद गरेर अलैंची ग्रेडिङ गरिरहेको उहाँले बताउनुभयो । “भारतबाट ल्याइने मेसिन महँगो छ, एउटा मेसिनको करिब १० लाख रुपैयाँ पर्छ”, उहाँले भन्नुभयो, “अहिले परीक्षण गरिएको मेसिन ५० हजारमै पाइने बुझेका छौं, यसले किसान र व्यवसायलाई सहज हुने देखिन्छ ।”
मेसिनबाट तीन प्रकारको अलैंची ग्रेडिङ हुनेछ । जम्बो जेट (जेजे), सुपर डिलक्स, चलन–चल्तीको गरी तीनवटा आकारको अलैंचीको दाना ग्रेडिङ हुने जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



