
भद्रपुर, २४ चैत । झापाको शिवसताक्षी नगरपालिकाले यहाँका कृषकलाई व्यावसायिक बनाउन कृषि उपकरण वितरण गरेको छ ।
शिवसताक्षी–४ को विश्वडुबा बहुउद्देश्यीय युवा कृषक समूहलाई नगरपालिकाले मकै रोप्ने मेसिन र मकै–धान कुटानी–पिसानी गर्ने एक वटा कम्बाइन मेसिन प्रदान गरेको हो । करिब १८ देखि २० हजार रुपैयाँ पर्ने ५ वटा मकै रोप्ने मेसिन र एक वटा कुटानी–पिसानी गर्ने मेसिन प्रदान गरिएको नगरपालिकाका कृषि अधिकृत रविन भट्टराईले जानकारी दिनुभयो ।

नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृत राई लगायतले आज एक कार्यक्रमका बीच उक्त सामग्री हस्तान्तरण गर्नुभएको छ ।
प्रधानन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै बालीको पकेट विकास कार्यक्रम अन्तरगत यहाँका कृषकलाई ५० प्रतिशत लागत सहभागितामा उक्त कृषि उकपरण प्रदान गरिएको उहाँले बताउनुभयो । उक्त दुवै मेसिनको मूल्य १० लाख रहेकामा कृषकको पाँच लाख र नगरको पाँच लाख रहेको छ ।

मेसिनबाट दैनिक एक बिघामा क्षेत्रफलमा मकै रोप्न सकिने छ । जसबाट कृषकको लागत र समय दुवै बचत हुनेछ । यो वर्ष समूहमा आबद्ध ३१ जना कृषक परिवारले ३० बिघामा मकै खेती गरिरहेका छन् ।
मकै बालीको पकेट विकास कार्यक्रम गत वर्ष विश्वडुबा युवा समूहलाई ३० थान स्प्रे ट्यांकी र २ वटा रिपरसमेत प्रदान गरिएको नगरपालिकाका सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिनुभयो ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



