
झापा, १५ बैशाख । कृषि ज्ञानकेन्द्र झापाले समृद्धि दिदीभाइ कृषि फर्मलाई ढुवानीको साधन प्रदान गरेको छ ।
ज्ञान केन्द्रले शुक्रबार एक समारोहका बीच झापा गाउँपालिका–६ स्थित किराँतचोकमा उक्त सवारी साधन हस्तान्तरण गरेको हो । व्यावसायिक केरा खेतीका लागि ढुवानी साधन खरिद सहयोग कार्यक्रम अन्तरर्गत सो फर्मलाई ५० प्रतिशत अनुदान प्रदान गरिएको ज्ञान केन्द्रका प्रमुख सागर बिष्टले जानकारी दिए ।
उत्पादित केराको बजारीकरणमा सहयोग पु¥याउन पिकअप गाडि सहयोग गरिएको उनले बताए । ढुवानीका साधनमा फर्म र ज्ञान केन्द्रको ५०÷५० प्रतिशत लगानी छ ।
दिदिभाई कृषि फर्मको ८ लाख र ज्ञान केन्द्रको ८ लाख गरी कुल १६ लाखमा खरिद गरिएको सानो गाडि हस्तानतरण गरिएको हो ।
झापा गाउँपालिकाको कार्यबाहक अध्यक्ष अञ्जुदेवी थपलियाको प्रमुख आतिथ्य तथा समृद्धि दिदीभाइ कृषि फर्मको अध्यक्ष पुजा खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत झापा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष नबिन किशोर थापाले गरेका थिए ।
सवारी हस्तान्तरण कार्यक्रममा ज्ञान केन्द्रका सूचना अधिकारी चेतराज भण्डारी, अचार उद्यमी दिनानाथ शिवाकोटी लगायतले मनतव्य राखेका थिए । सो फर्मले झापा गाउँपालिकाको ६ र ७ नम्बर वडामा १० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएको छ ।
कार्यक्रममा पालिका कार्यबाहक अध्यक्ष थपलियाले दिगो विकास लक्ष्य प्राप्ति हुने गरी कृषिलाई पहिलो प्राथमिकतामा राखेर योजनाहरु पालिकाले निर्माण गरिरहेको बताइन् ।
कृषिजन्य उत्पादन बजारीकरणमा ढुवानी सेवा उपलब्धता नुहंदा समस्या भइरहेको बताउँदै यस्ता किसीमका सहयोगले कृषकलाई राहत मिल्ने फर्मका सदस्य तथा त्यस क्षेत्रका अगुवा कृषक चन्द्र बस्नेतले बताए । अगुवा युवा कृषक चन्द्र बस्नेतको प्रेरणाले अहिले सो क्षेत्रमा सयौं बिघा क्षेत्रफलमा व्यवसायीक केरा खेती हुंदै आएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा ज्ञान केन्द्रका सुमिता दाहाल, निर्मल कोइराला, झापा गाउँपालिकाका जयनारायण शाह, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



