
द्रोण अधिकारी
जलवायु परिवर्तनको असर हरेक वर्ष देखिन थालेको छ । जाडो वा गर्मीको समयमा विगतभन्दा भिन्न रूपमा प्रकृतिले आफूलाई प्रस्तुत गरिरहँदा विपतको रूप देखिन थालेको अवस्था छ ।
खासगरी प्रकृतिलाई मानिसले नियन्त्रण गर्ने प्रयास थालेकै कारण विपत नयाँ नयाँ स्वरूपमा आउने गरेको छ । सत्य कुरा के हो भने प्रकृतिमाथि मानिसको नियन्त्रण संभव छैन तर पनि मानिस विकास वा उन्नतिका नाममा प्रकृतिमाथि अतिक्रमण बढाइरहेको छ । प्रकृतिलाई मानिसले नियन्त्रण गर्न नसके पनि सही रूपमा उपयोग गर्न भने सक्छ । प्रकृति मानवका लागि सुखमय जीवन पनि हो तर, मान्छे आफ्नो जीवनका रूपमा रहेको प्रकृतिमाथि अतिक्रमण गरेर विजय हाँसिलको दौडमा लाग्दा प्रकृतिले प्रकोपको स्वरूप धारण गर्ने गरेको छ । प्राकृतिक प्रकोप भन्नाले बाढी, पहिरो, वर्षा, खडेरी, हिमपात, हुरीबतास जस्ता कुराहरू पर्दछन् । प्राकृतिक प्रकोप मानिसहरूको बसमा हुदैन तर मानिसले चाहेमा यसको न्यूनीकरण गर्न सक्दछ । धनजनको क्षतिबाट जोगाउन सक्दछ । प्राकृतिक प्रकोपको ख्याल नगर्ने हो भने यसले धनजनको विनाश गरी मानव जीवनलाई तहसनहस बनाउँन सक्छ ।
हरेक वर्ष जाडोयाममा धेरै वा थोरै जाडोको अनुभव हुनु प्रकृतिले आफ्नो रूप बदल्ने संकेत गर्नु हो भने गर्मीयाममा तापमान बढेर सहन नसक्ने अवस्था आउनु विपत उन्मूख प्रकृतिको स्वरूप देखिनु हो । त्यस्तै वर्षात्मा पानी कम पर्नु अथवा ढिलो, छिटो पानी वर्षने अवस्थाले पनि विपतको संकेत गरिरहेको हुन्छ । नेपालको सन्दर्भमा प्राकृतिक प्रकोपमा सबैभन्दा बढी जनमानसलाई दुःख दिने बाढीपहिरो प्रमुख रूपमा रहेको छ । त्यसपछि खडेरीका कारण हुने आगलागीले धेरै मानिसको धनजनको क्षति गर्ने गरेको छ । हरेक वर्ष हिउँद सकिने बित्तिकै खडेरी लम्बिने र आगलागीका घटना हुने गरेको पाइन्छ भने वर्षा लागेपछि बाढीपहिरोका कारण धेरै धनजनको क्षति भएको हामी सुन्दै÷देख्दैै आइरहेका छौं ।
बाढीपहिरोलाई न्यूनीकरण गर्न बाढी आउने मुख्यमुख्य ठाउँमा वृक्षारोपण गर्नु पर्दछ । खोलाका किनारामा तटबन्ध बाँध्नुपर्दछ । वन जङ्गलको संरक्षण गर्नु पर्दछ । खोला किनाराबाट अत्यधिक बालुवा, गिटी निकाल्नुहुँदैन । पहिरो जाने ठाउँमा पानीको निकास छोड्नु हुँदैन । पहिरो जाने क्षेत्रमा वर्षाको समयमा खेतीपाती पनि गर्नुहुँदैन । खेतीपातीले गर्दा माटो कमलो भई पहिरो जाने झन् बढी सम्भावना रहन्छ । यस्ता आधारभूत ज्ञान हामीले ग्रहण नगर्दा हरेक वर्ष सयौंले ज्यान गुमाउने हजारौंले घरबास छोड्नु पर्ने, हजारौं रोपनी खेती योग्य जमीन सधैंका लागि गुमाउनु पर्ने विषम परिस्थिति भोगिरहेकोे अवस्था छ । त्यस्तै आगलागी रोक्न पानीका मुहान सुरक्षित राख्ने, खडेरीको समयमा प्रज्वलनशील पदार्थलाई सुरक्षित स्थानमा राख्ने गर्नु पर्दछ । हरियाली वातावरण संरक्षित हुने कार्य निरन्तर अगाडि बढाउने हो भने आगलागी न्युनीकरण हुन सक्छ । खडेरी पर्ने प्रमुख कारण वनजंगल विनास भएको सत्यलाई स्वीकार गरेर वनजंगलको सुरक्षामा ध्यान दिएर हरित वातावरण बनाउन सक्ने हो भने खडेरीको समस्या भोग्नु पर्दैन । यस्तो विपतजन्य अवस्था कम गर्न राज्यले पनि उचित योजना, नीति नियम निर्माण गर्न सकेको अवस्था छैन ।
अत्याधिक जनसङ्ख्या वृद्धि, वातावरणीय सन्तुलनको अभावमा नेपालमा हरेक वर्ष अधिक वर्षा तथा खडेरी पर्ने क्रम बढ्न थालेको छ । यस विषयमा हामी नेपालीले सजग र सचेत भएर सोच्न जरुरी भइ सकेको छ । त्यस्तै वातावरणीय सन्तुलनको अभावमा जताभावी हिमपात हुने र अनावश्यक हुरीबतास आउने क्रम पनि बढ्दो छ । यस्ता प्राकृतिक प्रकोपबाट बच्न, आउने सम्भावित खतराबाट बचाउन, सुरक्षित बसाइको व्यवस्था गर्न जरूरी छ । यदि बसाइ सुरक्षित भएन भने मानवको जीवन र धनको क्षति हुन सक्छ भन्ने तथ्यलाई भुल्नु हुँदैन । यस वर्षको खडेरी निकै लम्बने संकेत देखिदैछ । आउने वर्षादका तीन महिनामा पूर्व मेचीदेखि महाकालीसम्म हजारौं नागरिक बाढी र पहिरोबाट प्रताडित हुने अर्को संकेत यस खडेरीलाई लिनु पर्छ । बेलैमा सचेत हुन सकिएन भने अरबौंका भौतिक संरचना क्षतविच्छेद हुने छन् । विकासका गतिविधिमा समेत अवरोध आउन आउने छ । यस्ता विनासका घटना पहिलो पटक भएको भने होइनन् ।
प्राकृतिक विपत हरेक वर्ष बढ्दो रूपमा रहँनुचाँहि चिन्ताको विषय हो । प्रकृति अनुकुल बन्न सक्दा प्रकोप घट्न सक्ने वैज्ञानि तर्क छ । विकासका नाममा अव्यवस्थित कटान गरेर सडक खन्ने, वन जंगल मास्ने, खोला—नदी दोहन गर्ने कार्यले खडेरी, बाढी पहिरोको स्वरूपमा परिवर्तन भएको सत्यलाई बिर्सनु हुँदैन । हरेक वर्ष बढ्दै गइरहेको प्राकृतिक प्रकोप नियन्त्रण गर्न सवै पक्ष सचेत हुन जरूरी छ । सवैले साझा समस्या मानेर प्रकोप नियन्त्रणका लागि प्रतिबद्ध नभएसम्म प्राकृतिक प्रकोपसित जुध्न सकिदैन । प्रकृति हाम्रो जीवन हो यसलाई हामीले नै संरक्षण गर्नु पर्दछ । कृतिम वस्तुका कारण प्राकृतिक स्वरूप बिग्रनु हुँदैन । भौतिक उन्नतिका नाममा विषाक्त रसायनले प्रकृतिको वास्तविक रूप बिगार्ने कार्य नरोकिएसम्म प्राकृतिक विपत्ति घट्ने संभावना पनि देखिदैन । मानिसलाई थाहा छ, उसले गरिरहेको प्रकृति विरोधी कामले आफ्नै अस्तित्व कम्जोर बनिदैछ । तर पनि मानिस विज्ञान र प्रविधिका नाममा प्रकृतिमाथि अतिक्रमण बढाइरहेको छ । त्यसैको प्रतिफल आज हरेक समयमा विपतसित लडिरहनु परेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।