
बिर्तामोड, ७ जेठ । यसोदा निरौला स्मृति प्रतिष्ठान बिर्तामोड–५ झापाले शव वाहन सञ्चालनमा ल्याएको छ ।
यसोदा निरौलाको नवौं स्मृति सभाको अवसरमा प्रतिष्ठानले शव वाहन सञ्चालनमा ल्याएको हो । विपन्न समुदायलाई निःशुल्क सेवा दिने उद्देश्यले आजदेखि शव वाहन सञ्चालन ल्याइएको प्रतिष्ठानका सचिव तथा स्वर्गीय निरौलाका पति रमेश निरौलाले जानकारी दिनुभयो । प्रतिष्ठानले सात लाख रुपैयाँको लागतमा सुविधायुक्त शव वाहन खरीद गरेको उहाँले बताउनुभयो ।
“विपन्न समुदायलाई निःशुल्क सेवा दिने उद्देश्य रहेको छ”, उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएकै कारण घाटसम्म शव पु¥याउन नसक्ने अवस्थाका समुदायलाई निःशुल्क र आर्थिक अवस्था राम्रो भएकालाई सञ्चालन खर्च मात्र लिएर सेवा दिन्छौं ।”
वि.सं. २०७२ सालमा स्थापना भएको प्रतिष्ठानले रक्तदान, निःशुल्क आँखा शिविर, अशक्तलाई ह्वीलचियर, चार महिलालाई आर्थिक सहयोग, ११० जनाको निःशुल्क स्वास्थ्य बिमा, सामुदायिक विद्यालयलाई अक्षष कोष स्थापनाका लागि एक लाख, पत्रकार महासंघ झापालाई उपचारकोषमा सहयोग गरेको प्रतिष्ठान संस्थापक अध्यक्ष विष्णुकुमार निरौलाले जानकारी दिनुभयो ।

बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा प्रसुति गराउने क्रममा यशोदा निरौलाको मृत्यु भएको थियो । बिर्ता सिटीले उपलब्ध गराएको पाँच लाख रुपैयाँ र परिवारको तर्फबाट पाँच लाख गरी १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरी सामाजिक तथा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको उहाँले बताउनुभयो । हाल कोषमा १५ लाख रुपैयाँ पुगेको छ । कोषलाई बृद्धि गरी सुत्केरी, गर्भवती महिलाको क्षेत्रका काम गर्ने प्रतिष्ठानको दूरगामी सोच रहेको छ । निकष्ट भविष्य थप सुविधा सम्पन्न शव वाहन गर्ने प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष नन्दीकेशर निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव रमेश निरौलाले गर्नुभएको थियो भने सञ्चालन संस्थापक अध्यक्ष विष्णुकुमार निरौला गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका संरक्षक सागरमणि ढकाल, डिल्लीराम खनाल लगायत प्रतिष्ठानका तथा परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


