
झापा, १४ जेठ । मोरङको विराटनगर स्थित एक डेरी उद्योगले जापान घिउ निर्यात सुरु गरेको छ । प्रदेश सरकारले दूधजन्य वस्तुको निर्यातमा अनुदान दिने घोषणा गरेपछि उक्त उद्योगले आफैँ बजार खोजेर जापानमा घिउ पठाउन लागेको हो ।
विराटनगर–१४ स्थित सूर्योदय मिल्क एण्ड बेभरेज उद्योग प्रालिले आइतबार एक कार्यक्रम गरी जापानतर्फ घिउ पठाएको हो । हाल प्रतिमहिना ५ हजार किलो घिउको माग आएको उद्योगका सञ्चालक मनोज यादवले बताए । अहिले ३ हजार किलो चिउरा, तीन हजार किलो चियापत्ती, १२ सय किलो घिउ र १२ सय किलो मह पठाइएका उनले बताए ।
जापानमा रहेको पद्मा कर्पोरेसन लिमिटेड जापानसहित ६–७ वटा देशमा सामान निर्यात गरिरहेको कम्पनी हो । सोही कम्पनीसँग घिउ निर्यातको सहमति भएको यादवले बताए ।प्रदेश सरकारले उक्त उद्योग खोल्दा २ करोड अनुदान दिएको थियो । प्रदेश सरकारले अहिले विदेश निर्यात गरेको अवस्थामा प्रतिकिलो घिउमा १२०, नौनीमा ९० रुपैयाँ, होलमिल्क पाउडरमा ८० रुपैयाँ र स्किम मिल्क पाउडरको लागि ७० रुपैयाँ अनुदान दिने घोषणा गरिसकेको छ । त्यसका लागि कृषि मन्त्रालयले ४ करोड रुपैयाँ बजेट विनियोजन समेत गरेको छ ।
कोशी प्रदेश कृषि मन्त्रालयका सचिव डा. लेखराज दाहालले प्रदेश सरकारले विगतमा गरेको लगानीको प्रतिफल देखिन थालेको बताए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घिउ निर्यात गर्ने कुरालाई प्रदेश सरकारले गौरवको रूपमा लिएको बताए । यो एकदमै राम्रो कुरा भएको उनको भनाइ छ । ‘घिउ, चिया र मह प्रदेशको पहिचान पनि हो’, उनले भने, ‘यसलाई अझै धेरै निर्यात गर्ने गरी जान सक्यौँ भने गरिबी निवारणमा पनि सहयोग पुग्ने देखिन्छ ।’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



