
भद्रपुर, १४ जेठ । भद्रपुर नगरपालिकाले ‘मेचीपारि तरकारी बारी’ पकेट कार्यक्रमअन्तर्गत त्यहाँका किसानलाई कृषि सामग्री वितरण गरेको छ । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले एक कार्यक्रममा ती सामग्री वितरण गरेका हुन् ।

मौसमी खेतीमा मात्र निर्भर रहेका कृषकलाई बेमौसमी खेतीतर्फ आकर्षित गरी बढी मुनाफा आर्जन गर्ने उद्देश्यले सिँचाइ पाइप, टप सिँचाइ मोटर, उन्नत बीऊ, प्राङ्गारिक मल, स्प्रे ट्याङ्कलगायत सामग्री वितरण गरिएको कृषि विकास अधिकृत सुमन बिमलीले जानकारी दिए ।
मेचीपारिको उपज नेपाली बजारसम्म ल्याउन पुलको समस्या हुँदा बारीमै कुिहने गरेको यहाँका किसानको गुनासो छ । स्थानीय किसान अनय राजवंशीले यहाँको उत्पादनले बजार पायो भने जिल्लाभरिलाई पुग्ने आलुलगायत अन्य तरकारी उत्पादन गर्न सकिने दाबी गरे ।
नगरप्रमुख पोखरेलले भद्रपुरमा सङ्कलन केन्द्र स्थापना गर्दै किसानले उत्पादन गरेको कृषिउपज ढुवानीको व्यवस्था नगरपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कृषकले उत्पादन गरेको कृषि उपज बिक्री नभए नगरपालिकाले समर्थन मूल्य बराबर रकम उपलब्ध गराउने बताए । कृषकलाई ढुक्क भएर तरकारी खेती गर्न नगरप्रमुख पोखरेलले आग्रह गरे ।
नगरपालिका कृषि विकास शाखाका अनुसार ‘मेचीपारि तरकारी बारी’ पकेट कार्यक्रम गत आर्थिक वर्षदेखि सञ्चालन हुँदै आएको हो । भद्रपुर नगरपालिकाको मेचीनदी पारिको गाउँमा अधिकांश राजवंशी समुदायको बसोबास रहेको नगरपालिका कार्यालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



