

भद्रपुर १४ जेठ । झापामा ४५ हजार भन्दा बढी बालबालिकालाई पोलियो रोगविरुद्धको आईपीभी खोप लगाइने भएको छ ।
पोलियो रोगविरुद्धको ‘राष्ट्रिय आईपीभी अभियान–२०८१’ अन्तरगत जिल्लाका ४५ हजार छ सय ४८ जना बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले जानकारी दिनुभयो ।

आगामी जेठ १६ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने अभियानमा २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाइनेछ । “त्यतिबेला विश्वभरमै खोप अभाव भएको थियो”, उहाँले भन्नुभयो, “त्यतिबेला खोप लगाउन छुटेका बालबाकिालाई लक्षित गरेर अभियान सञ्चालन हुन लागिएको हो ।”
अभियानबारे जानकारी दिन स्वास्थ्य कार्यालय झापाले आज यहाँका सञ्चारकर्मीसँग अन्तरक्रिया समेत गरेको छ । “खोप अभावका भएको बेला जन्मिएका बालबालिका हाल विद्यालय उमेरको भइसकेकाले विद्यालय लक्षित कार्यक्रम गर्दैछौं”, उहाँले भन्नुभयो, “सँगै घरदैलोमा गएर खोप लाउन छुटेका बालबालिकालाई समेत खोजेर खोप लगाउँछौं ।”
जिल्लामा अभियान सम्पन्न गर्न पाँच सय ५२ खोप केन्द्रमा चार सय ९४ खोप दिने स्वास्थ्यकर्मी र आठ सय ३६ जना स्वयम्सेवक परिचालित हुनेछन् ।
लक्षित समूहका बालबालिकालाई एक मात्रा खोप लगाएर पोलियो रोगविरुद्धको प्रतिरोधात्मक क्षमता बृद्धि गर्नु नै अभियानको मुख्य लक्ष्य रहेको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले बताउनुभयो ।
जिल्लाका १५ वटै पालिकामा सामुदायिक तथा संस्थागत विद्यालयमा तालिमप्राप्त स्वास्थ्यकर्मीले खोप लगाउने छन् । “सन् २०१० देखि नै नेपाल पोलियो शून्य अवस्थामा रहेको छ”, उहाँले भन्नुभयो, “पोलियो मुक्त भइसकेको प्रमाणपत्र नेपालले २०१४ मै लिइसकेको छ, तर छिमेकी मुलुकहरुमा रोग देखिएकाले सोको संक्रमणको जोखिम कायमै छ ।”
सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मुलन गर्ने लक्ष्य लिएको छ । पोलियो उन्मुलनको प्रमुख उपाय नै खोप भएकाले लक्षित सबै वर्गलाई खोप लगाउन निमित्त प्रमुख बाराकोटीले आग्रह गर्नुभयो ।
पोलियो भाइरसले जुनसुकै उमेरका मानिसलाई संक्रमण गर्न सक्ने भए पनि पाँच वर्ष मुनीका बालबालिलाई बढी जोखिम हुन्छ । यो भाइरसको संक्रमण दुषित पानी र खानाबाट सर्छ ।
पोलियो रोगको संक्रमण भएको प्रति दुई सय जनामा एक जनालाई पक्षघात हुनसक्ने सम्भावना हुन्छ भने विशेष गरेर हात–खुट्टामा पक्षघात हुने गर्दछ । पोलियो रोगको संक्रमण भएका पाँच देखि १० प्रतिशतमा स्वासप्रश्वासको मांसपेशी नचल्ने र मृत्यु हुनेसम्म हुन सक्ने स्वास्थ्य कार्यालय झापाका जनस्वाथ्य अधिकृत विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो ।
खोप अधिकृत पोखरेलको अध्यक्षतामा भएको अन्तरक्रियाको सहजीकरण नर्सिङ अधिकृत सुनिता राईले गर्नुभएको थियो । अभियान अन्तरगत देशभर १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।