सन्तोष शर्मा
भद्रपुर, १५ जेठ । झापाका गर्भवती तथा सुत्केरी महिलाका लागि कोशी प्रदेश सरकारले पौष्टिक पिठो उपलब्ध गराएको छ ।
तीन महिनाको गर्भवतीदेखि दुई वर्षसम्मको सुत्केरीका लागि प्रदेश सरकारले ३० हजार नौ सय २० केजी पौष्टिक पिठो उपलब्ध गराएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो ।
“आमा र बच्चालाई आवश्यक पौष्टिक तत्व परिपूर्ति गरी उनीहरुको स्वास्थ्य सुधार गर्न प्रदेश सरकारले यो कार्यक्रम ल्याएको हो”, उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएका गर्भवती र सुत्केरी महिलालाई यसले धेरै फाइदा पुग्छ ।”
पौष्टिक पिठोमा विभिन्न १५ प्रकारका भिटामिन र मिनिरल्स मिसिएको छ । जसले गर्भवती र सुत्केरीलाई आवश्यक पौष्टिक तत्व सहजै प्राप्त हुने उहाँले बताउनुभयो । एक सय ग्राम पिठोको उपयभोगबाट ४१० क्यालोरी र आवश्यक पोषकतत्व प्राप्त हुन्छ ।
पौष्टिक पिठो निःशुल्क वितरणका लागि जिल्लाका १५ वटै पालिकामा पठाइएको छ । पहिलो चरणमा मेचीनगरमा एक हजार आठ सय केजी, बुद्धशान्तिमा एक हजार केजी, अर्जुनधारामा एक हजार चार सय केजी, कनकाईमा सात सय केजी, शिवसताक्षीमा एक हजार दुई सय केजी, दमकमा एक हजार छ सय केजी, कमलमा एक हजार केजी पौष्टिक पिठो पठाएको छ ।
त्यस्तै, दमकमा एक हजार छ सय केजी, गौरादहमा एक हजार दुई सय, गौरीगञ्जमा एक हजार, झापा गाउँपालिकामा नौ सय, बाह्रदशीमा नौ सय, बिर्तामोडमा एक हजार दुई सय, हल्दिबारीमा एक हजार, भद्रपुरमा एक हजार दुई सय र कचनकवलमा नौ सय केजी पौष्टिक पिठो पठाइएको कार्यालयले जनाएको छ । सम्बन्धित पालिकाले स्वास्थ्य संस्थाबाट लक्षित वर्गलाई निःशुल्क वितरण गर्ने जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।