झापा, १८ जेठ । कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले झापाको मेचीनगर–१४ स्थित सिंगापुर बेभरेज प्रालिको आज निरीक्षण गर्नुभएको छ ।
कृषिसँग सम्बन्धित झापाका विभिन्नको निरीक्षण गर्ने क्रममा मन्त्री साहले आज यहाँस्थित पेय पदार्थ उत्पादक उद्योग सिंगापुर बेभरेजको निरीक्षण गर्नु भएको हो । उद्योग निरीक्षण गर्नुहुँदै कृषि मन्त्री साहले कृषि क्षेत्रको विकास लागि उद्योगी–व्यवसायीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो ।
![advt](http://jhapaonline.com/wp-content/uploads/2024/06/Jana-ad-2-copy.jpg)
![](https://jhapaonline.com/wp-content/uploads/2024/05/image-25-1024x577.png)
स्वस्थ्यकर र गुणस्तरीय उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्न आवश्यक भएकाले विभिन्न कार्यक्रमको माध्यमबाट कृषिसँग जोडिएका उद्योगलाई प्रोत्साहन गर्न मन्त्री भएको हैसियतले पनि बेलाबेलामा छलफल पनि गरिरहेको उहाँको भनाइ छ ।
खाद्यवस्तुको गुणस्तरको नियमन र सुधारका लागि सदनबाट खाद्य स्वास्थ्य गुणस्तर विधेयकका लागि नियमावली पास भएको बताउँदै त्यसका लागि सबैको साथ सहयोग जरुरी रहेको उल्लेख गर्नुभयो ।
निरीक्षणका लागि आउनुभएका मन्त्री साह समक्ष उद्योगी–व्यवसायीले आफ्ना समस्या राखेका थिए । भारत, बंगलादेश, थाइल्याण्ड लगायतका मुलुकबाट जुसका नाममा ‘फ्लेबर’ मात्र भएको पेय पदार्थ आयात हुँदा नेपाली उद्योगी मारमा परेको सिंगापुर बेभरेजका प्रबन्ध निर्देशक आशिष शर्माले बताउनुभयो ।
![](https://jhapaonline.com/wp-content/uploads/2024/05/image-26-1024x768.png)
सरकारले त्यस्तो कार्यको नियमन र अनुगमन नगर्दा नेपाली उद्योगी–व्यवसायी मारमा परेको उहाँको भनाइ छ । एकै प्रकारका वस्तु उत्पादन गर्ने स्वदेशी उद्योगबाट कुनै समस्या नभएको बताउँदै उहाँले विदेशबाट न्यून गुणस्तरीय वस्तु आयात हुँदा समस्या भएको बताउनुभयो ।
“भन्सार दाखिला गर्दा एचएस कोडमा जुस लेखेर फ्लेवर आयात भइरहेको छ”, उहाँले भन्नुभयो, “यो नै नेपाली उद्योगको मुख्य चुनौती हो, जसले उपभोक्ताको स्वास्थ्यमा समेत असर परिरहेको छ ।” नेपाली उत्पादन युरोप, अमेरिका लगायतको मुलुकमा निर्यात भइरहेको र यसले नेपाली उत्पादनको प्रबद्र्धन र बजारीकरणमा ठूलो टेवा मिलेको उहाँको भनाइ छ ।
नेपालमा जुस आयात गर्न पाइने भए पनि फ्लेवर मात्र भएको पेय पदार्थ आयात प्रतिबन्धित रहेको उद्योगका सञ्चालक रमेश शर्माले बताउनुभयो । उद्योगमा चाहिने कच्चा पदार्थ आयात गर्दा कर लाग्ने र सोबाट तयारी भएको वस्तुमा पुनः कर लिँदा उद्योगी थप मारमा परेको उहाँको भनाइ छ । “दोहोरो करले व्यवसायी मारमा परेका छन्”, उहाँले भन्नुभयो, “जसले गर्दा उत्पादन लागन बढी हुँदा आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न सकिएको छैन ।”
सात वर्षअघि स्थापना भएको सिंगापुर बेभरेजले सफ्ट ड्रिङ्कस र जुस गरेर ३२ वटा भन्दा बढी प्रकारका पेय पदार्थ उत्पादन गर्दै आएको छ । ८० करोड लगानी पुगिसकेको उद्योगमा हाल तीन सय ५० जनाले रोजगारी पाएका छन् । उद्योगबाट उत्पादित पेय पदार्थ युरोप, अमेरिका लगायत ३५ वटा मुलुकमा निर्यात हुँदै आएको जनाइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।