
सन्तोष शर्मा
बिर्तामोड, २१ जेठ । झापाको बिर्तामोड नगरपालिकास्थित बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नौ हजार बढी घरपरिवारलाई खानेपानी वितरण गर्दै आएको छ ।
संस्थाले बिर्तामोडको १० वटै वडा र अर्जुनधारा नगरपालिका–५, ६ र ११ का केही स्थानका गरी नौ हजार दुई सय घरपरिवारलाई शुद्ध खानेपानी वितरण गर्दै आएको संस्थाका सचिव पारशमणि मैनालीले जानकारी दिनुभयो ।
संस्थाले तीन वटा ओभरहेड ट्यांकी, १६ वटा डिप बोरिङ र ११ वटा फिल्टर प्लाण्टबाट दैनिक करिब दुई करोड १२ लाख लिटर पानी उत्पादन गरी २४सै घण्टा वितरण गर्दै आएको छ ।

पानीको माग बढ्दो
बिर्तामोड खानेपानीमा हाल दैनिक ३०/३५ जना उपभोक्ता धारा जडानका लागि माग गर्न आउने गरेका छन् । बिर्तामोड–३ स्थित सैनिक बजारमा पानीको माग बढेपछि हालै एक वटा फिल्टरसहित डिप बोरिङ जडान गरिएको छ ।
“झण्डै एक करोड रुपैयाँको लागतमा फिल्टरसहितको डिप बोरिङ गरिएको छ”, सचिव मैनालीले भन्नुभयो, “उपभोक्ताको माग बढेपछि डिप बोरिङ गाडेका हौं ।” सो क्षेत्रमा हाल चार सय ५० उपभोक्ता छन् भने डिप बोरिङ सञ्चालनमा आएपछि नौ सयदेखि एक हजार घरपरिवारलाई खानेपानी वितरण गर्न सकिने संस्थाले जनाएको छ ।
संस्थाले चालू आर्थिक वर्षमा अर्जुनधारा–११ र अर्जुनधारा–६ मा फिल्टरसहितको डिप बोरिङ जडान गरेको छ । जग्गा व्यवस्थापनसमेत गरेर रू दुई करोड ५० लाख खर्च भएको सचिव मैनालीले बताउनुभयो ।
सडक निर्माणले समस्या
सडक निर्माणका क्रममा पाइपलाइनमा क्षति पुग्दा समस्या हुने सचिव मैनाली बताउनुहुन्छ । “सडक, ढल बनाउँदा पाइप फुटेर हैरान हुन्छ”, उहाँले भन्नुभयो, “सडक बनाउने बेलामा हामीलाई कुनै जानकारी दिइँदैन, पाइप फुटिसकेपछि फोन आउँछ ।” खानेपानी जस्तो आधारभूत कुरालाई सरोकारावाला निकायले नजरअन्दाज गर्नु विडम्बना भएको उहाँले बताउनुभयो ।
सडक निर्माणका क्रममा क्षति भएको पाइपलाइन मर्मतका लागि सडक निर्माणको ठेक्का लिने र दिने दुवैले चासो नदिँदा समस्या हुने गरेको छ । एउटा सडकमा चार पटकसम्म पाइप विछ्याउनुपर्ने बाध्यता रहेको सचिव मैनाली सुनाउनुहुन्छ ।
“उपभोक्तालाई पानी नदिँदा समस्या हुन्छ, मर्मत गर्न आर्थिक समस्या हुन्छ”, उहाँले भन्नुभयो, “सडक निर्माण गर्दा अन्य सरोकारवालालाई जानकारी र बजेट छुट्याए जसरी खानेपानीलाई पनि बजेट र महत्व दिनुपर्छ ।”
आफ्नै स्रोतले सेवा दिँदै
आफ्नै सीमित स्रोत, साधन र बजेटको परिधिमा रहेर आमउपभोक्तालाई शुद्ध खानेपानी वितरण गरिँदै आएको संस्थाका अध्यक्ष मेघराज बाँस्तोला बताउनुहुन्छ । “उपभोक्ताको चाहना अनुसार सकेसम्म न्यायोजित ढंगले पानी उपलब्ध गराउँदै आएका छौं”, उहाँले भन्नुभयो, “पानीको माग अत्याधिक बढेको छ, क्षमताले भ्याएसम्म काम गरिरहेका छौं ।”

बिर्तामोडमा शहरीकरणसँगै जनघनत्व बढ्दै गएकाले पानीको माग पनि दिनदिनै बढ्दै गएको छ । तर, खानेपानी संस्थाको क्षमता बृद्धिका लागि सरोकारवाला निकायबाट सहयोग मिल्न सकेको छैन । पाइपलाइन विस्तारमा मात्र सहयोग गरे खानेपानीको पहुँच अभिबृद्धि हुने संस्थाका व्यवस्थापक खड्ग गिरी बताउनुहुन्छ ।
नगर विकास कोषले मुलुककै उत्कृष्ट खानेपानी संस्थाका रुपमा सन् २०१८ र सन् २०२२ मा पुरस्कृत गरेको बिर्तामोड खानेपानीको ऋण रू ८५ लाख रहेको छ । उपभोक्तालाई शुद्ध खानेपानी उपलब्ध गराउन एडीबीबाट लिएको ऋण मध्ये उक्त रकम तिर्न बाँकी रहेको संस्थाले जनाएको छ ।

प्रविधिमैत्री बन्दै
संस्थामा वेभ मा आधारित भौगोलिक सूचना तथा सम्पत्ति व्यवस्थापन र सुपरिवेक्षण प्रणाली (जीआइएस) लागू व्यवस्थापक गिरीले बताउनुभयो ।
दियालो टेक्नोलोजीले निर्माण गरेको यो प्रणाली जीआइएस प्रणाली मार्फत मिटर रिडिङका लागि एन्ड्रोइड मोबाइल एप्लिकेसन मिटरमार्क, बिलिङ व्यवस्थापन, सूचना र सञ्चारको लागि एसएमएस प्रणाली, अनलाइन प्रणाली बाट खानेपानी को महसुल भुक्तानी, बित्तीय लेखा, जिन्सी व्यवस्थापन, ग्राहक सेवा व्यवस्थापन, ग्राहकका लागि स्वमिटर रिटिङ लगायतका सेवा अनलाइन मार्फत हुने उहाँले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


