कनकाई, ५ असार । कनकाई अपाङ्गता समावेशी संस्थाले कनकाई नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख टीका खतिवडालाई सम्मान गरेको छ ।
कनकाई नगरपालिकाको सभा हलमा आज आयोजित वार्षिक समीक्षा गोष्ठी कार्यक्रममा संस्थाले शाखा प्रमुख खतिवडालाई नगदसहित सम्मान गरेको हो । नगरका अपाङ्गता भएका नागरिकको उत्थानका लागि उल्लेख्य योगदान गरेको भन्दै संस्थाले उहाँलाई नगद १० हजारसहित प्रमाण–पत्र, दोसल्ला र दुबोको माला पहिर्याएर सम्मान गरेको हो ।
कार्यक्रममा विशेष अतिथि कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, वडा नं। ४ का वडाध्यक्ष रोशन सुवेदी ,सामाजिक अभियन्ता शेरबहादुर थापा, संस्थाका अध्यक्ष पुष्पलाल घिमिरे लगायतले उहाँलाई सम्मान–पत्र हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै वडाध्यक्ष लीलाबहादुर कटुवालले अपाङ्गता भएकाहरुलाई वडाले विशेष प्राथमिकता दिएको बताउनुभयो । अपाङ्गता भएकाहरुलाई तालिमसँगै आवश्यक सामग्री दिने सोचका साथ अघि बढेको बताउनुभयो ।
विशेष अतिथि सामाजिक अभियन्ता शेरबहादुर थापाले अपाङ्गता भएकाहरुलाई तालिमपछि कच्चा पदार्थ र बिऊ पुँजी दिनुपर्नेमा जोड दिनुभयो । ‘अहिले सपाङ्ग भएको मान्छे भोलि अपाङ्ग पनि हुन सक्छ’, उहाँले भन्नुभयो, ‘त्यसैले उहाँहरुलाई समाजमा सम्मानपूर्वक बस्न सक्ने वातावरण बनाउन सबै लाग्नुपर्छ ।’
कार्यक्रममा बिर्तामोड अपाङ्गता संघका अध्यक्ष चन्द्र भट्टराईले सबैले अपाङ्गमैत्री वातावरण बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । ‘बाटोघाटो र पूर्वाधार मात्र विकास होइन’, उहाँले भन्नुभयो, ‘मानव संशाधनको समेत विकास हुन जरुरी छ ।’
सम्मानित शाखा प्रमुख खतिवडाले नगर अपाङ्गता भएकाहरुलाई खोजी–खोजी संगठित गरेको बताउनुभयो । ‘कार्यविधि नै बनाएर संविधानले दिएको अधिकार प्रत्याभूत गराउने प्रयास नगरले गरिरहेको छ’, उहाँले भन्नुभयो, ‘मैले धेरै काम गरेको छु, यो सम्मानले आगामी दिनमा अझ दृढतापूर्वक लाग्न प्रेरणा मिलेको छ ।’
कार्यक्रममा विशिष्ठ अतिथि नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठ लगायतका अतिथिलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थाका सदस्य ढुण्डी कोइराला संस्थाले गरेका कामका बारेमा बुँदागत रुपमा प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष पुष्पलाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक संघ नगर अध्यक्ष शम्भूप्रसाद पोखरेल , सुस्त श्रवण समाज कनकाई कि अध्यक्ष भगिरथा चापागाईं लगायतको आतिथ्य रहेको थियो ।
संस्थाका सदस्य वेदप्रकाश सुवेदीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष सागर मण्डल र सिर्जना बरालले गर्नुभएको थियो ।
संस्थाले अपाङ्गता भएकाहरुलाई आत्मनिर्भर, सीमयुक्त र आयआर्जन गर्न सक्ने बनाउन विभिन्न कार्यक्रम गर्दै आएको छ । संस्थाले चालू आर्थिक वर्षमा विभन्न नौ वटा कार्यक्रम गरेको छ ।
संस्थाले ३२ औं अन्तर्राष्ट्रिय दिवस मनाउनुका साथै २५ जनालाई न्यानो कपडा र ४० जनालाई झुल वितरण, कनकाई–३ को सहभाहलमा तीन दिने नेतृत्व विकास तालिम र पाँच दिने गुडिया बनाउने तालिम दिएको छ ।
त्यस्तै, कनकाई–९ मा पाँच दिने गुडिया बनाउने तालिम, कनकाई–८ र १ मा चार दिने क्रिस्टल माला बनाउने तालिम, कनकाई–६ मा झोल साबुन, फिनेल तथा धुप बनाउने तालिम र झुल वितरण गरेको छ ।
यस्तै, कनकाई–१ मा पाँच दिने कुचो बनाउने तालिम र कनकाई–३ मा तीन दिने संस्थागत विकास तालिम दिएको छ । यी कार्यक्रमबाट तीन सय ७७ जना लाभान्वित भएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।