
चन्द्र बस्नेत
कनकाई, ६ असार । झापाको कन्काई नगरपालिका वडा नं. १ ले कृषकलाई विद्युतीय सिँचाइ मोटर वितरण गरेको छ ।
वडाका कृषकलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यले आज वडाले यहाँका कृषकलाई विद्युतीय सिँचाइ मोटर वितरण गरेको हो । वडा अध्यक्ष शुसिलकुमार पोखरेलको सभापतित्वमा आयोजित कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यतामा कृषकलाई विद्युतीय सिँचाइ मोटर वितरण गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख पोखरेलले सबै वडामा माग अनुसारको मोटर तत्काल उपलब्ध गराउन नसकेपनि आवश्यकताका आधारमा मोटर वितरण गरिएको स्पष्ट पार्नुभयो । उहाँले यस पटक सबै वडामा २सय४३ वटा वितरण गरिएको छ, आगामी वर्षमा थप वितरण गछौं”, उहाँले भन्नुभयो, “सिचाईमा सबै कृषकलाई आत्मनिर्भर बनाउने अभियानमा छौं ।” सिञ्चायुक्त र विषादीरहित नगर घोषणा गर्ने योजनाका साथ नगरपालिका अघि बढेको नगरप्रमुख पोखरेलको भनाई थियोे ।

यता वडाध्यक्ष पोखरेलले यस पटक मागको करिब ४० प्रतिशत अर्थात वडाका २६ परिवारलाई मात्रै आवश्यकताका अनुसार उपलब्ध गराएको बताउनुभयो । उहाँले अझै पनि ७२ जनाभन्दा धेरैको माग रहेको भन्दै अबको चरणमा सबैलाई पुर्याउन प्रयास गर्ने प्रतिवद्वता जनाउनु भयो।
वडा अध्यक्ष पोखरेलले आगामी आर्थिक वर्षमा वडावासीमा मकै छोडाउने मिसिन र स्पे ट्याग्ङ्की वितरण गर्ने योजना रहेको भन्दै यसमा सहयोग तथा समन्वय गरिदिन कार्यक्रम स्थलमै नगर प्रमुख पोखरेलको ध्यानाकर्षण गराउनुभएको थियो ।
कृषिका लागि मल, बिउसँगै सिँचाइको समेत उत्तिकै भूमिका हुने भएकाले सिँचाइ मोटर वितरण गरिएको उहाँले बताउनुभयो । कृषकलाई कृषि कार्यमा आवश्यक पर्ने मल, विउविजन पनि वितरण गरेको वडा सदस्य निर्मला खड्काले बताउनुभयो ।

यता, नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउनुका साथै अग्र्यानिक कृषि उत्पादनलाई प्राथमिकता दिएको छ ।
करिब ५७ हजारभन्दा बढी जनसंख्या रहेको कनकाईमा नगरपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । सबै क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेको कनकाईले कृषिमा आत्मनिर्भर बनाउने नीति लिएको छ । जसका लागि कृषकलाई खेती गर्न सहज हुने वातावरण निर्माण गरिरहेका छ । कृषिको माध्यमबाट आयात प्रतिस्थापनसँगै स्वरोजगार बन्न सकिने भएकाले पनि कृषि क्षेत्रलाई बढी प्राथमिकता दिएको हो ।
नगरमा सिञ्चाइ सुविधा बढाउन कनकाई नगरपालिकाले यतिबेला नगरका सबै वडाका कृषकका लागि सिचाइको मोटर वितरण गरिरहेको छ । नगरका नौ वटा वडामा २ सय ४३ परिवारलाई विद्युतीय मोटर वितरण गरिरहेको नगर कृषि शाखा प्रमुख यदुकुमार उप्रेतीले जानकारी दिनुभयो । पछिल्लो समय युवा वर्ग विदेशिने अनि गाउँघरमा जेष्ठ मातापिता र बालबालिका मात्रै रहको अवस्थामा यहाँ युवालाई स्वदेमै टिकाउन र कृषि क्षेत्रको प्रबद्र्धन गर्न मोटर वितरण गरिएको उहाँले बताउनुभयो ।
नगरपालिकाले हेफर प्रोजेक्ट तथा कारीतास नेपालसँगको सहकार्यमा अभियान नेपालले कृषकहरुका लागी बिउमा अनुदान, विषादीमुक्त खेतीमा जोड, स्प्रे ट्याङ्ग्की वितरण, धानको बीउ उत्पादन पचास प्रतिशत अनुदान , गाईगोठ तथा बाख्रा खोर सुधार , बाख्राका पाठा वितरण , क्षमता विकास तालिम, आत्म निर्भरतामा जोड दिदै निरन्तर कार्यक्रम गरिरहेको अभियान नेपालका कार्यक्रम संयोजक केशव खनालले जानकारी दिनुभयो ।
उहाँले नगरमा कृषकहरुका लागि आफुहरुको पहिलो प्राथमिकता रहेको भन्दै नगरमा वडाको समन्वयमा विभिन्न वडा स्तरीय समूह तथा उपहार समूह गठन गर्दै कार्यक्रमहरु निरन्तर अघि बढीरहेको संयोजक खनालले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



