
झापा, ८ असार । भद्रपुर नगरपालिकाले किसानलाई करेसाबारी तालिम दिएर कृषि सामग्री पनि वितरण गरेको छ । चालू आवमा शहरी क्षेत्र लक्षित करेसाबारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत तरकारी खेती विस्तार गर्न नगरपालिकाले किसानलाई सहयोग गरेको हो ।
नमूना करेसाबारी प्रवद्र्धन कार्यक्रमका लागि कृषि विकास शाखामा नगरपालिकाको वडा नं. ५, ६, ७, ८ र १० बाट सिफारिस भएर छनोटमा परेका नमूना किसानलाई लक्षित गरिएको नगर प्रमुख गणेश पोखरेलले बताए । ‘कुहिने फोहरलाई कम्पोष्ट मल बनाउन सके फोहरको सदुपयोग हुन्छ, तरकारी सप्रिनुका साथै वातावरण स्वच्छ राख्न मद्दत पुग्छ’ –उनले भने ।
त्यसैगरी नगर उपप्रमुख राधा कार्कीले करेसाबारीमा उत्पादन गरेका खानेकुरा ढुक्क भएर उपभोग गर्न सकिने भएकाले सबै नगरबासीलाई करेसाबारी खेतीमा लाग्न आग्रह गरे । ‘हामीले चाहेका बखत उपभोग गर्न पाउने गरी पुदिना, धनियाँ, अकबरे लगायत बिरुवा रोप्न सक्छौँ र सजिलोसँग उपभोग गर्न सक्छौँ । किनेर ल्याएको खानेकुरामा विषादी मिसिएको हुनसक्छ, त्यसैले कसेसाबारीको उत्पादन निर्धक्क भएर खान सकिन्छ’ –उपप्रमुख कार्कीले भनिन् ।
कृषि विकास शाखाले पाँच वडाबाट ७५ घर छनोट गरी स्पे्र ट्याङ्की, तरकारीको बीऊ, कुहाउने जैविक झोल, बीऊ राख्ने ट्रे, पानी हाल्ने हजारी, पञ्जा, जैविक विषादी, करेसाबारीका औजार निःशुल्क वितरण गरेको कृषि विकास शाखाका प्रमुख सुमन विमलीले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



