
बिर्तामोड, १२ असार । झापाको बिर्तामोड नगरपालिकाले यहाँका कृषक तथा व्यवसायीलाई कृषि सामग्री प्रदान गरेको छ ।
नगरपालिकाले ५० प्रतिशत लागत सहभागितामा यहाँका कृषक तथा व्यवसायीलाई कृषि सामग्री प्रदान गरेको हो । बुधबार एक कार्यक्रमका बीच नगरपालिकाले दुग्ध डेरी उद्योगका लागि आवश्यक चिलिङ्ग भ्याट, मिल्क क्यान, काउमेट, बाख्रा तथा बंगुरका दाना पिसाउने मेसिन वितरण गरिएको हो ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य संगीता सिवा, सीता विश्वकर्मा लगायतले उनीहरुलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो ।
नगरप्रमुख प्रसाईंले नगरले प्रदान गरेको सामग्रीको सदुपयोग गर्न आग्रह गर्नुहुँदै कृषि क्षेत्रको प्रबद्र्धनका लागि नगरपालिका लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले कृषि क्षेत्रको प्रबद्र्धनका लागि लगानी गरिरहेको छ, कृषकहरुले उत्पादनमा जाड दिनुहोस् ।”
नगरपालिकाले रू ११ लाख ६८ हजार पाँच सय रुपैयाँको लगायतमा चिलिङ्ग भ्याट दुई थान, मिल्क क्यान आठ वटा, दाना पिसाउने मेसिन पाँच थान र काउमेट २२ जना कृषकलाई एकदेखि चार थानसम्म वितरण गरेको पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



