
झापा, २१ असार । कचनकवलका पशुपालक किसानलाई गाउँपालिकाले ७० प्रतिशत अनुदानमा विद्युतीय च्याप कटर (घाँस,पराल काट्ने मेसिन) प्रदान गरेको छ।
कचनकवल गाउँपालिकाको आर्थिक वर्ष २०८०–८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखा मार्फत ७ वटै वडाका किसानहरुलाई ३०थान च्यापकटर मेशिन प्रदान गरिएको हो ।
३२ हजार २ सय ५० मूल्यमा खरिद गरिएको ती मेसिन शुक्रबार गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा किसानहरुलाई वितरण गरिएको थियो । पशुपन्छी तथा मत्स्य विकास शाखाका नायब पशु स्वास्थ्य प्राविधिक हेमराज पौडेलले किसानको ३० प्रतिशत र गाउँपालिकाको ७० प्रतिशत लगानीमा मेशिन वितरण गरिएको बताउनुभयो ।
मेसिन वितरण गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशी र वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणि खरेलले गर्नुभएको थियो । मेसिन वितरण गर्दै गाउँपालिका अध्यक्ष राजवंशीले पशुपालनमा आत्मनिर्भर बनाउने लक्ष्यसहित पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । मेसिनको प्रयोगले व्यवसायिक किसानहरुलाई पशुपालनमा सहजता ल्याउने र उत्पादन बृद्धि हुने अपेक्षा लिएको बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



