
झापा, २९ असार । कोशी प्रदेशमा शुक्रबार सम्ममा ६१ दशमलव ६७ प्रतिशत रोपाइँ सम्पन्न भएको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । गएको वर्ष यस अवधिमा ५५ दशमलव नौ प्रतिशत रोपाइँ भएको थियो ।
झापा, मोरङ र सुनसरीमा ६४ दशमलव ८१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा ४४ दशमलव २५ प्रतिशत, मध्यपहाडी क्षेत्र इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, खोटाङ र उदयपुरमा ५६ दशमलव ६६ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दिएको जानकारीअनुसार कोशी प्रदेशमा ८ लाख २६ हजार ६ सय ४६ हेक्टर खेतीयोग्य जमिनमा दुई लाख ७६ हजार तीन सय ८६ दशमलव ७२ हेक्टर जग्गामा धानखेती हुने गरेको छ । मनसुनको सक्रियतासँगै अहिलेसम्म एक लाख ७० हजार चार सय ५० दशमलव ४२ हेक्टर जग्गामा धान रोपाइँ भएको मन्त्रालयका अधिकृत अभिमन्यु अधिकारीले जानकारी दिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



