
महोत्तरी, १५ मंसिर । ‘भैंसी पालेको थिएँ। साँझ–बिहान गरी १२÷१४ लिटर दूध दिन्थ्यो । तर, दूध बेच्नै समस्या थियो’, प्रमिलादेवी महतोले विगत सम्झँदै भनिन्, ‘अब भने गाईभैंसी पाल्नेका दिन आए।’
महोत्तरी गौशाला नगरपालिका९१२ कान्तिबजारकी ३२ वर्षीया प्रमिलाको गोठमा अहिले चार भैंसी छन्। दुई वटाले दूध दिन्छन्। उनले एक महिनाअघि नयाँ भैंसी पनि थपेकी छन्। प्रमिला भन्छिन्, ‘गाउँमै सहकारीले दूध संकलन केन्द्र राखिदियो। अब भने जति दूध भए पनि बिक्छ।’ दूधको रकम सहकारीले पाक्षिक रूपमा एकमुष्ठ खातामै राखिदिने गरेको बताउँदै उनले थपिन्, ‘दूध बेचेर ५५ हजारमा भैंसी किनें।’
जिल्ला दूध उत्पादक सहकारी लिमिटेड गौशाला र साना किसान कृषि सहकारी संस्था कान्तिबजारको लगानीमा १२ लाखमा गत साउन ३१ गते दूध संकलन केन्द्र स्थापना भएको थियो। कान्तिबजारस्थित पशु सेवा केन्द्र परिसरमा सहकारीले दूध संकलन केन्द्र राखेपछि प्रमिलाजस्ता तीन सय किसान लाभान्वित भएका छन्। बिहान बेलुका दूध बिक्री केन्द्रमा किसान देख्दा मेला लागेझैं लाग्छ। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


