
झापा, ८ भदौ । यस वर्ष धान रोपाइँका लागि मनसुन अनुकूल रहँदा ९८ दशमलव पाँच प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार अघिल्लो वर्ष ९४ दशमलव ६ प्रतिशतमा रोपाइँ सम्पन्न भएकामा यस वर्ष झन्डै चार प्रतिशत रोपाइँ बढेको छ ।
मुलुकभर १३ लाख ९८ हजार नौ सय ८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने क्षेत्रमध्ये १३ लाख ७८ हजार ६ सय ११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार कोशी प्रदेशमा ९९ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कोशी प्रदेशमा करिब दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर रोपाइँ हुने क्षेत्रफल रहेकामा हालसम्म दुई लाख ७५ हजार दुई सय ६७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।
मधेस प्रदेशमा ९७ दशमलव तीन प्रतिशतमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यस प्रदेशमा तीन लाख ८६ हजार एक सय ५० हेक्टर रोपाइँ हुने क्षेत्र रहेकामा तीन लाख ७५ हजार ६ सय १४ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
बागमती प्रदेशमा यस वर्ष ९९ दशमलव दुई प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ । तथ्याङ्कअनुसार बागमतीमा एक लाख १२ हजार दुई सय ७३ हेक्टर खेतीयोग्य क्षेत्रफल रहेकामा एक लाख ११ हजार तीन सय ५१ क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशमा भने ९७ दशमलव ८ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा धान रोपाइँ हुने क्षेत्रफल ९६ हजार ५३ रहेकामा ९३ हजार नौ सय २१ क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।
लुम्बिनी प्रदेशमा ९८ दशमलव तीन प्रतिशतमा यस वर्ष रोपाइँ सम्पन्न पनि मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यस प्रदेशमा तीन लाख ११ हजार ६ सय ४३ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकामा तीन लाख ६ हजार तीन सय ७७ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।
कर्णाली प्रदेशमा यस वर्ष ९९ दशमलव दुई प्रतिशतमा रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । कर्णाली प्रदेशमा ४१ हजार नौ सय चार हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकामा यस वर्ष ४१ हजार पाँच सय ७८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेशमा शत्प्रतिशत नै रोपाइँ सम्पन्न भइसकेको मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । यस प्रदेशमा एक लाख ७४ हजार पाँच सय ७६ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकामा एक लाख ७४ हजार पाँच सय एक हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
कृषि मन्त्रालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा धानको कूल उत्पादन गत आवभन्दा ४ दशमलव ३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन पुगेको थियो । जुन विगत चार वर्षको औषत उत्पादनको तुलनामा ५ दशमलव ०८ प्रतिशतले बढी हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



