
सन्तोष शर्मा
झापा, ४ पुस । झापामा शून्य खनजोत प्रविधिबाट मकै खेती गरिएको छ ।
कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रम अन्तरगत जिल्ला तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकै खेती गरिएको हो । झापाको बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०÷१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट मकै खेती गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।
कृषि अनुसन्धान निर्देशनालय तरहरा सुनसरीको प्राविधिक सहयोगमा कृषि ज्ञान केन्द्रले प्रदर्शनीका रुपमा बिना खनजोत मकै खेती प्रविधि प्रदर्शनी गरिएको उहाँले बताउनुभयो । यो प्रविधिको प्रयोगबाट उत्पादन लागत घट्नुका साथै नयाँ प्रविधि विस्तार र माटोको गुस्तर सुधार हुने उहाँको भनाइ छ ।
यो प्रविधिबाट धान काटेको खेतमा खनजोत नगरी मेसिनको प्रयोगबाट एकै पटक मकैको बिऊ र मल हाल्न सकिन्छ । मकैको एउटा लाइनबाट अर्को लाइनको दुरी ४५ सेन्टिमिटर र बोटको दुरी १५–२० सेन्टिमिटर हुन्छ । हाल गरिएको नमुना खेतीमा डीएपी मल र बिऊ एकै पटक राखिएको छ ।
झापामा गत वर्ष ४४ हजार हेक्टरमा मकै खेती गरिएको थियो भने उत्पादकत्व ७ टन प्रतिहेक्टर रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



