
लमजुङ, ७ माघ । लमजुङ का किसानले अलैँची बिक्री गरेर रु २२ करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित एक सय ५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् । यस वर्ष जिल्लामा प्रतिकिलो रु एक हजार पाँचदेखि दुई हजार चार सयसम्ममा अलैँची बिक्री भएको छ ।
त्यसैगरी, गत आर्थिक वर्ष २०८०–८१ मा जिल्लाका किसानले दुई सय ५१ मेट्रिक टन अलैँची बिक्री गरी रु २४ करोड आम्दानी गरेका थिए । मिजारका अनुसार गत वर्ष जिल्लाका किसानले प्रतिकिलो रु एक हजार दुई सयका दरले अलैँची बिक्री गरेका थिए । गत वर्षको तुलनामा यस वर्ष उत्पादन घटेको हो ।
त्यसैगरी, आर्थिक वर्ष २०७९–८० मा तीन सय ८० मेट्रिक टन अलैँची बिक्रीबाट रु २० करोड आम्दानी भएको थियो । उक्त वर्ष प्रतिकिलो अलैँची कम्तीमा रु पाँच सय ५० देखि सात सयसम्म बिक्री भएको थियो । भारतको एकाधिकारका कारण किसानको मागअनुसार अलैँचीको मूल्य नपाएको गुनासो भए पनि यस वर्ष केही राहत महसुस गरेको किसानहरूको भनाइ छ ।
जिल्लामा सात सय ५० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि तीन सय ७५ हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको उक्त कार्यालयले जनाएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रूपमा मर्स्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होँलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



