
कनकाई, १२ माघ । झापाको कनकाई–८ स्थित भेटवाल गाउँमा २८ जनालाई व्यावसायिक च्याउ खेती प्रविधि तालिम दिइएको छ ।
रोटरी क्लब अफ सुरुङ्गाको आयोजना, कनकाई नगरपालिकाको आर्थिक सहयोग तथा न्यू सिद्धि बिनायक च्याउ फर्मको प्राविधिक सहयोगमा तालिम दिइएको हो । च्याउ खेतीको प्रवर्धन गर्ने उद्देश्यले आयोजित तालिमममा कनकाई स्वभालम्वी अपाङ्गता संस्थाका अपाङ्गा भएका १५ जनासहित २८ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण प्रशोधन निरौलालले गर्नुभएको थियो ।

रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष लुवराज उप्रेतीको अध्यक्षतामा भएको उद्घाटन तालिममा कनकाई–८ का वडाध्यक्ष लिलाबहादुर कटुवालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा रोटरी क्लब अफ सुरुङ्गाकाका पूर्व अध्यक्ष कुमारमणि पोखरेल, कनकाई नगरपालिका कृषि शाखा प्रमुख समिता सोती, कृषि विकास अधिकृत यदुकुमार उप्रेती, नगरकी महिला तथा बालबालिका शाखा प्रमुख टीका खतिवडा, कनकाई स्वभालम्वी अपाङ्गता संस्थाका अध्यक्ष पुष्पलाल घिमिरे, रोटरी क्लब अफ सुरुङ्गाका आगामी अध्यक्ष डिल्लीराम मैनाली, प्रेसिडेन्ट नोमिनी अर्जुन बोहोरा, रोटरी क्लब अफ सुरुङ्गाकी सदस्य सुश्मा न्यौपाने , मेनुका उप्रेती लगायतको आतिथ्य रहेको थियो ।
स्वागत तथा औचित्यमाथि प्रकाश अध्यक्ष उप्रेतीले पारेको कार्यक्रमको सञ्चालन सचिव सोमनाथ उप्रेतीले गर्नुभएको थियो । तालिममा सहभागीलाई जनही ५० पोका च्याउको बिउबिजन वितरणसमेत गरिएको थियो ।



