
चन्द्र बस्नेत/ नेत्र बिमली
कनकाई, २७ माघ । झापा गाउँपालिकाले आज किसानलाई सिञ्चाइ मोटर र स्प्रे ट्याङ्की वितरण गरेको छ । पालिकाको कृषिमा विनियोजन बजेट मार्फत ५०–५० साझेदारी कार्यक्रम अन्तर्गत १ सय ७६ मोटर र ३ सय ३८ वटा स्प्रे ट्याङ्की वितरण गरेको हो । कार्यक्रममा पालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाको अध्यक्षता एवम् कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाको प्रमुख आतिथ्य रहेको थियो ।
गाउँपालिका भित्रका सबै वडामा आज एकैसाथ १ सय ७६ थान विद्युतीय मोटर र ३ सय ३८ थान स्प्रे ट्याङ्की वितरण गरेको कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले जानकारी दिनुभयो । पछिल्लो समय युवा वर्ग विदेशिने अनि गाउँघरमा जेष्ठ मातापिता र बालबालिका मात्रै रहको अवस्थामा यहाँ युवालाई स्वदेमै टिकाउन र कृषि क्षेत्रको प्रबद्र्धन गर्न मोटर वितरण गरिएको उहाँले बताउनुभयो ।

झापा गाउँपालिकाले किसानलाई आत्मनिर्भर बनाउने उदेश्यले कृषि परियोजनको लागि विद्युत महसुलमा ८० प्रतिशत र झापाबासीलाई ५० प्रतिशत विद्युत महसुस समेत गाउँपालिकाले आफैं भुक्तानी गर्दै आएको कार्यवाहक अध्यक्ष थपलियाले बताउनुभयो । कृषि उत्पादन बढाउन प्रत्येक वडाका कृषकको खेतवारीमै बिजुली पुर्याउने कार्यक्रम समेत सञ्चालित रहेको बताउँदै यस आर्थिक वर्षमा समेत १ करोड रुपैयाँको बिजुलीको पोल र ६५ लाखको बिजुली तार खरिद गरिएको उहाँले बताउनुभयो । झापा गाउँपालिकाका निर्वाचित अध्यक्ष जयनारायण शाहले अगाडि बढाउनु भएको सबै कार्यक्रमहरुलाई निरंतरता दिँदै अगाडि बढेको समेत कावा अध्यक्ष थपलियाले जिकिर गर्नुभएको छ ।

स्थानीय तहको समग्र विकासका लागि जनप्रतिनिधिहरुले अगाडि सार्नु भएको महत्त्वपूर्ण कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिलाले बताउनुभयो । झापा गाउँपालिका मकै जोन भएकोले यहाँका किसानलाई पालिकाले २०७४ देखि नै प्राथमिकतामा राखेर सहयोग पुर्याउदै आएको प्रमुख प्रशासकीय अधिकृत थपलियाले बताउनुभयो ।
थपलियाका अनुसार बोलपत्र मार्फत ४९ लाख ६ सय ७९ रुपैयाँ बराबरको मोटर र स्प्रे ट्याङ्की गरिद गरिएको हो । किलस्कर कम्पनीको २ हर्ष पावर को विद्युतीय मोटरको लागी किसानले ११ हजार ८० रुपैयाँ व्यहोर्नुपर्ने हुन्छ भने पालिकाले त्यति नै रकम व्यहोर्ने छ । त्यस्तै स्प्रे ट्याङ्कीमा समेत पालिकाले साझेदारी कार्यक्रम अनुसार १५ सय ८५ रुपैयाँ व्यहोर्ने गरी काम गरिएको थपलियाले बताउनु भयो ।
गाउँपालिकाले कृषकका लागि बिउमा अनुदान, विषादीमुक्त खेतीमा जोड, स्प्रे ट्याङ्ग्की वितरण, धानको बीउ उत्पादन अनुदान दिइरहेको निर्वाचित अध्यक्ष जय नारायण शाहले बताउनुभयो । गाउँपालिकाले कृषकका लागि मोटर सिञ्चाइमा ८० प्रतिशत र विपन्न घरका लागि ५० युनिटसम्म विद्युत महशुल शुल्क समेत गाउँपालिकाले तिरिदिने गरेको उहाँले बताउनुभयो ।
आजको कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष राजकुमार यादव, ७ का वडा अध्यक्ष शखीचन्द्र ठाकुर, निवर्तमान कृषि शाखा प्रमुख जगत नारायम मण्डल, कृषक एवम् शिक्षा समिति सदस्य शुन्दरलाल गणेश, कृषक तविजो मिया, कुमार मैनाली लगायतले आ–आफ्नो भनाइ राख्नु भएको थियो ।
उक्त कार्यक्रममा स्वागत तथा औचित्य माथि प्रकाश कृषि शाखाका समिक्षा उप्रेती पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख युवराज कोइरालाले गर्नु भएको थियो ।



